गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं – २६ अर्घौमा जन्म भै हाल पोखरा महानगरपालिका वडा नं १९ लामाचौरमा स्थायी वसोवास गर्ने इतिहास विषयका प्राध्यापक डा.राधा जि.सी (भण्डारी) वि.सं २०१५ सालको मार्ग महिनाको १५ गतेका दिन सुन्दरीबजार अर्घौचोकमा जन्मनु भएको हो ।

उहाँ नैनध्वज जि.सी र मनमाया जि.सी.को नातिनी एवं कुलबहादुर जि.सी र मिश्रीकुमारी जि.सी.को सुपुत्री हुनुहुन्छ । भण्डारीका चार दाजुभाइहरुमा कृष्णबहादुर जि.सी. प्राध्यापक सूर्य जि.सी , रामबहादुर जि.सी र हरिबहादुर जि.सी रहेका छन् । पोखरामहानगर पालिकाको एक प्रखर बौद्धिक व्यक्तित्व भण्डारीले पोखरा महानगर पालिकाका वरिष्ठ शिक्षाविद गणेश भण्डारी सङ्ग वैवाहिक सम्वन्ध कायम गर्नु भएको हो । हाल उहाँको परिवारमा जेष्ठ सुपुत्री डा. स्मृतीसिंहको डा. हैण्डसन खड्का सङ्ग वैवाहिक सम्वन्ध कायम हुन गएको छ भने क्रमशः प्रतिक्षासिंहको विभोर कोइराला र छोरा स्वागतसिंह भण्डारीको अर्पण भण्डारी सङ्ग वैवाहिक सम्वन्ध कायम भएको पाउँदछौं ।

उहांँले वि.सं.२०३२ सालमा लक्ष्मी आदर्श माध्यामिक विद्यालय सिसुवाबाट एस.एल सी , पृथ्वीनारायण क्याम्पस पोखराबाट वि.सं. वि.सं. २०३४ सालमा आइए , वि.सं. २०३७ सालमा स्नातक ( बि.ए.) र वि.सं.२०४४ सालमा इतिहास विषय लिएर एम ए उतिर्ण हुनु भएको हो । अध्ययनको अवधी सकिनासाथ उहाँले पृथ्वीनारायण क्याम्पस पोखरामा इतिहास विषय अध्यापन गर्दै आउनु भएको हुनाले उहाँ नेपाली इतिहास क्षेत्रको एक कुलदीपक पनि हुनुहुन्छ । वि.सं. २०४५ साल मार्ग ३ गतेबाट पृथ्वीनारायण क्यापस पोखरामा इतिहास विषयको प्राध्यापन सुरुवात गरेर वि.सं. २०७८ साल मार्ग ३ गतेका दिन लामो प्राध्यापन कार्यबाट विश्राम लिनु भएको हो ।
अध्ययन अध्यापनका सङ्ग सङ्गै उहाँले वि.सं.२०७० सालमा गण्डकी अञ्चलमा गूठी व्यवस्थापन विषयमा सोधपत्र लेखी विद्यावारिधी ( पि.एच.डि ) गर्नु भएको छ । गोरखा जिल्लाको साविक नामजुङ गा.वि.स. स्थित बुंकोटघाटको भीमसेन गुठीको अध्ययन गर्ने सन्दर्भमा भण्डारीका साथ जाने सुअवसर लेखक स्वयं र नामजुङ गा.वि.स.का पूर्वअध्यक्ष रामकुमार श्रेष्ठलाई पनि मिलेको थियो । महर्षि व्यासका विषयमा लेख रचना तथा कार्यपत्रहरु लेखी विश्वमा प्रचारप्रसार गर्न अहोरात्र मरीमेटी खट्ने प्राध्यापक डा. राधा भण्डारी विचार र दर्शनका खानी र व्यास जन्मस्थलका अन्वेषक पनि हुनुहुन्छ । हरेक दिन पौराणिक एवं ऐतिहासिक विषय, धर्म र दर्शनका विचार प्रवाह गर्ने डा. राधा भण्डारी दमौलीका लागि आदरणीय नारीरत्न हुनुहुन्छ ।
आज भन्दा २५ वर्ष अगाडि नै पोखरा महानगरपालिकाको लामाचौरमा सरस्वती आदर्श माध्यामिक विद्यालय स्थापना गरी आज पर्यन्त उहाँले उक्त विद्यालयलाई सञ्चालन गर्दै आउनु भएको छ । हालसम्म उहांँका आफ्ना प्रकाशित कृतिहरु हाम्रो माझ नभेटिएता पनि विभिन्न स्मारिका र पत्रपत्रिकाहरुमा भने उहांँका प्रशस्त लेख तथा रचनाहरुको प्रकाशन भइसकेका पाउँदछौं । विभिन्न धार्मिक, ऐतिहासिक , धर्म–दर्शन र सम्वन्धी प्रकाशित रचनाहरुले उहांंको व्यासत्वलाई अझ प्रवाहित गर्दै लगेको छ । लेख रचना तथा कार्यपत्रहरु प्रस्तुत गर्ने सन्दर्भमा सेवानिवृत प्राध्यापक मञ्चको सदस्य डा. राधा भण्डारीले महर्षि वेदव्यासको मूर्ति स्थापनामा धार्मिक, सामाजिक साँस्कृतिक तथा पर्यटकीय महत्व शिर्षक राखेर व्यास क्षेत्र विकास कोषले वि.सं २०७३ साल बैसाख १० गतेका दिन आयोजना गरेको वृहत कार्यशाला गोष्ठीमा आफ्ना तर्फबाट कार्यपत्र प्रस्तुत गरी व्यास जन्मस्थल दमौलीको उजागर गर्नु भएको थियो । उहाँले आफ्नो कार्यपत्रमा प्राचीन कालदेखि नै देवीदेवताहरुले बास गरेका, अवतार लिएका वा शिद्ध व्यक्तित्व ऋषि महर्षिहरुको जन्म एवं मरण भएका, उनीहरुले ध्यान तपस्या र ज्ञान प्राप्त गरेको मानिने पावन एवं अति पवित्रस्थल देवभूमि दमौली नेपालको राजधानी काठमाण्डौबाट १५० किलो मिटर पश्चिम तथा गण्डकी प्रदेशको राजधानी पोखराबाट ५० किलोमिटर पूर्व समग्रमा नेपालकै मध्यभूभागमा रहेको बताउनु भएको छ ।
डा. राधा भण्डारीले प्रस्तुत गर्नु भएको उक्त कार्यपत्रमा विभिन्न विद्वान व्यक्तिहरुले आआफ्ना टिप्पणीहरु राखेका थिए । प्राध्यापक डा. भण्डारीले पुराण तथ गण्डकी महात्म्यम उल्लेख भएका प्रमाणहरुलाई प्रस्तुत गर्दै महर्षि वेदव्यास श्रीकृष्ण द्वैपायनको जन्मभूमि तनहुं दमौली नै हो र उहाँको १०८ फिट अग्लो मूर्ति निर्माणले दमौलीको भवष्य उज्ज्वल रहेको तर्कहरु आफ्नो कार्यपत्रमा विशेष जोड दिनु भएको पाउँदछौ । गण्डकी अञ्चल भर रहेका गुठी व्यवस्थापन विषयमा शोधपत्र तयार गर्नु भएकी प्राध्यापक डा. भण्डारीले दमौलीमा निर्माण हुने महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण भएमा हिन्दु धर्मको धार्मिक महत्व बढ्नगई यस्को पुर्नर्जागरण र उत्थानमा टेवा पुग्ने, धार्मिक सहिष्णुतामा पृष्ठ पोषण हुने, धर्म र नैतिकताको पालना वा चारित्रिक विकासमा योगदान पुग्ने, वैदिकधर्म वा संस्कृतिको संरक्षण तथा अनुशरण गर्नमा मद्धत पुग्ने, दमौलीलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न सकिने, जातिय समन्वय एवं सामाजिक भावनाको जागरण ल्याउन सकिने, परम्पररागत साँकृतिक कृयाकलापमा अभिबृद्धि गर्नमा सहयोग पुग्ने, नजिन संस्कृतिको मेला पर्व गर्न सकिने, पूर्विय कलाकौशलको विकास गर्न सकिने, साँंस्कृतिक जीवनका नमुना प्रदर्शन गर्नमा हयोग पुग्ने, धार्मिक एकता र समन्वयको सन्देश प्रवाह गर्न पाइने र दमौलीको धार्मिक महत्वमा बृद्धि हुन गई धार्मिक एवं पर्या–पर्यटनको विकासको साथसाथै दमौलीलाई विश्व रङ्गमञ्चमा सहज चिनाउन सकिने विश्वास लिएको पाउँछौ।
व्यासभूमिको सन्देश प्रवाह गर्न मरीमेट्ने प्राध्यापक डा. राधा भण्डारीजी सङ्ग दमौली र महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माणका विषयमा जिज्ञासा राख्दा आज सम्म पनि महर्षि वेदव्यासको मूर्ति निर्माण कार्य सम्पन्न हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो । दमौलीको भविष्य सङ्ग सम्वन्ध निकटता राखेको मूर्ति निमांण कार्यमा आपसी द्वन्द सिर्जना गरी रहनु भन्दा सबैले एैक्यबद्ध भइ मूर्ति निर्माण कार्य सम्पन्न गर्नमा विशेष जोड दिनु पर्ने बताउनु भयो । अन्तराष्ट्रिय नारी दिवसका सन्दर्भमा उहाँले गरेका योगदानहरुको कदर गर्दै र भविष्यमा पनि थप सरसल्लाह र बौद्धिक सुझावको अपेक्षा गर्दै व्यास नगर पालिका तनहुँले व्यास भूमिका विषयमा चिन्तन गर्ने बौद्धिक व्यक्तित्व प्राध्यापक डा. राधा भण्डारीँलाई सम्मान गर्नु पर्ने महसुस गरेका छौं ।
(• वस्न्यात इतिहास, परम्परा, संस्कार र संस्कृतिका विषयमा कलम चलाउँछन् । )
























