प्रहार समाचार । तनहुँ,१९ बैशाब २०८३ शनिवार । तनहुँको बन्दीपुरमा सुरु भएको “गाउँ पर्यटन मार्ट” कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले गाउँको आर्थिक सशक्तिकरणबिना मुलुकको समग्र विकास सम्भव नहुने स्पष्ट पारेकी छन्। शुक्रबार कार्यक्रम उद्घाटन गर्दै उनले उत्पादनमुखी गाउँ निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कृषिसँगै स्थानीय स्रोत–साधनको उपयोगमार्फत आर्थिक गतिविधि बढाउनुपर्ने धारणा राखिन्।

मन्त्री रिमालले नेपाल कला र संस्कृतिमा धनी भए पनि प्रभावकारी प्रचारप्रसारको अभावमा विश्वसामु चिनिन नसकेको बताइन्। उनले परम्परागत सम्पदालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै विदेशी पर्यटक भित्र्याउनेतर्फ राज्यले ध्यान दिनुपर्ने उल्लेख गरिन्। संघीयता कार्यान्वयनसँगै नागरिकका अधिकार सुनिश्चित गर्दै समृद्ध नेपाल निर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

गाउँबाट तीव्र बसाइँसराइ भइरहेकाले त्यसलाई रोक्न स्थानीय तहले बस्नयोग्य वातावरण निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिइन्। “आर्थिक उत्पादनमा जोड, सुशासनको अभ्यास र बाँझो जमिनलाई उत्पादनशील बनाउनेतर्फ कृषिलाई प्राथमिकता दिनुपर्छ,” उनले भनिन्। यसले गाउँमै रोजगारी सिर्जना गरी युवालाई आफ्नै ठाउँमा टिकाउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्।
कार्यक्रमका क्रममा बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा र उपाध्यक्ष पञ्चमाया गुरुडले गण्डकी प्रदेशका ११ स्थानीय तहमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘गाउँ पर्यटन मार्ट’ आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले गाउँस्तरमै पर्यटन र अर्थतन्त्र चलायमान बनाउन टेवा पुग्ने बताएका थिए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणि लामिछाने, बन्दिपुरका पर्यटन व्यवसायी शिवकाजी पिया लगायतले आ- आफ्नो धारणा राखेका दुई दिनसम्म सञ्चालन हुने उक्त मार्टमा ११ जिल्लाका २९ घरबाससहित ३० वटा स्टलमार्फत स्थानीय उत्पादन र पर्यटन सम्भावनाको प्रदर्शनी गरिएको छ।



























