प्रहार समाचार । काठमाडौं, २७ कात्तिक २०८३ शुक्रबार । सरकारले छठ पर्वको अवसरमा आइतबारसँगै सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आज सूचना जारी गर्दै कात्तिक ३० गते सोमबारसमेत देशभर सार्वजनिक बिदा हुने जानकारी गराएको हो। यससँगै छठ पर्वका लागि सरकारले लगातार दुई दिन सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार, २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वको सार्वजनिक बिदा यसअघि नै घोषणा भइसकेको थियो। तर छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले सरकारले सोमबार पनि बिदा थप गरेको हो।

सरकारको यो निर्णयसँगै छठ मनाउने समुदायलाई धार्मिक अनुष्ठान सम्पन्न गर्न थप सहज हुने भएको छ। मन्त्रालयले सोमबारको सार्वजनिक बिदाबारे सम्बन्धित सबै निकाय तथा सर्वसाधारणलाई जानकारी गराएको छ। अब आइतबार र सोमबार सरकारी कार्यालय तथा सार्वजनिक निकाय बन्द रहनेछन्।
























