प्रहार समाचार । तनहुँ, २४ कात्तिक २०८३ मंगलबार । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शिवचोकस्थित सेती नदी नजिकै रक गार्डेन क्षेत्रमा धानको कुन्युमा अज्ञात समूहले आगजनी गर्दा ठूलो परिमाणमा धान नष्ट भएको छ।

प्रकाश पौडेलको खेतमा अधियाँ खेती गर्दै आएका हुकुम सिंह आलेले संकलन गरी राखेको धानको कुन्युमा अज्ञात समूहले आगो लगाइदिएको हो। आगजनीबाट ३० देखि ३५ मुरी भन्दा बढी धान नष्ट भएको अनुमान गरिएको छ। वर्षभरि पसिना बगाएर खेतमा उब्जाएको अन्न भित्र्याउने समयमा कसैले आगो लगाएर नष्ट गरिदिनु अत्यन्तै अमानवीय र निन्दनीय कार्य हो। किसानको मेहनत, श्रम र वर्षभरिको आशामाथि गरिएको यस्तो प्रहारलाई सामान्य घटनाका रूपमा लिन सकिँदैन।

अरूको सम्पत्ति र जीविकामाथि आगो लगाउने यस्ता अराजक गतिविधिले समाजमा भय र असुरक्षा मात्र बढाउँछन्। व्यक्तिगत रिसइबी वा अन्य जुनसुकै कारणले भए पनि किसानको अन्नमा आगो लगाउने कार्य कुनै पनि हालतमा क्षम्य हुन सक्दैन। घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ। मेहनतले फलाएको अन्न जलाएर कसैको पेट भरिँदैन, बरु एउटा किसानको वर्षभरिको पसिना र परिवारको खुसी खरानी हुन्छ। यस्ता घृणित र अमानवीय कार्यमा संलग्न जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ।
























