प्रहार समाचार । काठमाडौं, २१ कात्तिक २०८२ शनिबार । यमपञ्चकको पहिलो दिन काग तिहार तथा धन्वन्तरी जयन्तीको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीलाई शुभकामना दिँदै सत्य, न्याय, इमानदारी र सुशासनको बाटोमा अडिग रहन आह्वान गरेका छन्।

उनले चाडपर्वलाई केवल परम्परा र औपचारिकतामा सीमित नराखी संस्कृति, मानवीय संवेदना, सहअस्तित्व र असल कर्मको सन्देशका रूपमा आत्मसात् गर्न आग्रह गरेका छन्।कागलाई यमराजको दूतका रूपमा सम्मान गर्दै मीठा परिकार खुवाउने काग तिहारको परम्परालाई स्मरण गर्दै प्रधानमन्त्री शाहले प्राचीन समाजमा कागको आवाजलाई समाचार र सन्देशको प्रतीकका रूपमा लिने गरिएको उल्लेख गरेका छन्। परिवारका सदस्यको सुख, शान्ति र दीर्घायुको कामना गर्दै यम दीपदान गर्ने परम्पराले यमराजलाई केवल भयको प्रतीक नभई न्याय र कर्मको प्रतिफलसँग जोड्ने सांस्कृतिक मान्यतालाई उजागर गर्ने उनको सन्देश छ।
त्यसैगरी, समुद्र मन्थनबाट अमृत कलशसहित प्रकट हुनुभएका आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै उनले सबैमा निरोगी जीवनको शुभकामना व्यक्त गरेका छन्। भोलि मनाइने कुकुर तिहारको सन्दर्भमा मानिसको विश्वासिलो साथी कुकुरको योगदान स्मरण गर्दै घरको सुरक्षादेखि अनुसन्धान र उद्धार कार्यसम्म कुकुरले पुर्याउँदै आएको योगदानप्रति सम्मान र कृतज्ञता प्रकट गरेका छन्।प्रधानमन्त्री शाहले पर्वहरूको वास्तविक सन्देश संस्कृति जोगाउनुमा मात्र सीमित नरहेको संकेत गर्दै सत्य, न्याय र इमानदारीको बाटोमा हिँडेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा सबैले लिनुपर्ने बताएका छन्। उनको सन्देशको अन्त्यमा ‘जय देश, जय संस्कृति’ उल्लेख गरिएको छ।


















