हेडलाईनव्याससमाचारगण्डकीसाहित्य

पुरातात्त्विक सम्पदा र ग्रामीण पर्यटनको पहिचान उजागर गर्न व्यासमा वडा स्तरीय बहस, मेला तयारी तीव्र

• यम देरै (संवाददाता) तनहुँ, २० कात्तिक २०८३ शुक्रबार । व्यास नगरपालिकाभित्र ओझेलमा परेका ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको खोज, संरक्षण र प्रचारप्रसार गर्दै ग्रामीण पर्यटनको सम्भावना उजागर गर्ने उद्देश्यसहित व्यास नगर प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको ‘व्यास पुरातात्त्विक सम्पदा एवं ग्रामीण पर्यटन मेला–२०८३’ को तयारी तीव्र बनाएको छ।

आगामी मङ्सिर २५ देखि २७ गतेसम्म दमौली सभाहलमा सञ्चालन हुने मेलाको सन्दर्भमा व्यास नगरपालिका–१ को सभाहलमा वडा अध्यक्ष रमेशचन्द्र हड्खलेको अध्यक्षतामा वडा स्तरीय सभा सम्पन्न भएको छ। सभामा वडाभित्रका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र पर्यटनसँग जोडेर आर्थिक सम्भावना विस्तार गर्न स्थानीय तहबाटै प्रभावकारी पहल हुनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रममा व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले नगरभित्र रहेका ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको खोज र अध्ययन अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै तिनको संरक्षण र प्रचारप्रसारमार्फत नयाँ पुस्तासम्म मौलिक पहिचान हस्तान्तरण गर्नुपर्ने बताए।

पर्यटन मेला संयोजक हरिसिङ गुरुङले मेलालाई औपचारिक कार्यक्रम र प्रदर्शनीमा मात्र सीमित नराखी व्यासको वास्तविक इतिहास, संस्कृति, मौलिकता र ग्रामीण पर्यटनको सम्भावना उजागर गर्ने अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। प्राज्ञ सदस्य देवीबहादुर बस्नेतले स्थानीय सम्पदाको पहिचान, अभिलेखीकरण र संरक्षणमा समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा राखे।

कार्यक्रममा व्यास नगरभित्रका सांस्कृतिक सम्पदाको खोज तथा अध्ययन अनुसन्धानका विषयमा बहससमेत भएको थियो।सभामा व्यास–५ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल), विभिन्न टोल विकास संस्थाका अध्यक्ष, जनप्रतिनिधि, निर्मल माध्यमिक विद्यालय र जलदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थी एवं विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा उठेका सुझाव र छलफलले मेलालाई प्रभावकारी बनाउन स्थानीय समुदाय, शैक्षिक संस्था र सरोकारवालाबीच सहकार्यको आवश्यकता औँल्याएको छ।

व्यासको पहिचान केवल प्रचारका नारामा होइन, संरक्षणविहीन अवस्थामा रहेका सम्पदा खोज्ने, तिनको महत्व स्थापित गर्ने र पर्यटनसँग जोडेर स्थानीय आर्थिक गतिविधि बढाउने काममा देखिनुपर्ने सन्देशसमेत सभाले दिएको छ। कार्यक्रमको सहजीकरण प्राज्ञ सदस्य महाप्रसाद हड्खलेले गरेका थिए।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button