प्रहार समाचार । तनहुँ, १७ कात्तिक २०८३ मंगलबार । विकास, अनुशासन र गतिशीलतालाई मूल नारा बनाएको ग्यालेक्सी युवा क्लब व्यास–६, शिशाघाटले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा स्व. जीतबहादुर दुरा र देशमान दुरा स्मृति रनिङ कप ७ ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

आगामी मंसिर ४ गतेदेखि शिशाघाट खेलमैदानमा सुरु हुने प्रतियोगिताले स्थानीय फुटबल खेलको विकाससँगै नयाँ खेलाडी उत्पादन र खेलकुद संस्कृतिको प्रवर्द्धनमा जोड दिने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद एक लाख २० हजार १०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार १०५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीले मंसिर ३ गतेसम्म टिम दर्ता गराइसक्नुपर्नेछ। टिम दर्ता शुल्क सात हजार रुपैयाँ र थप एक हजार रुपैयाँ तोकिएको छ। खेलकुदमार्फत युवालाई अनुशासित, सिर्जनशील र गतिशील बनाउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।

ग्यालेक्सी युवा क्लबका अध्यक्ष भान सुब्बा दुराले एउटा सामान्य युवा क्लबले १९ वर्षदेखि निरन्तर फुटबल प्रतियोगिता सञ्चालन गर्नु आफैँमा स्थानीय खेलाडी उत्पादन र खेलकुद विकासमा महत्वपूर्ण योगदान भएको बताए। उनले प्रतियोगितालाई केवल खेल जित्ने र हार्ने प्रतिस्पर्धामा सीमित नराखी स्थानीय प्रतिभा पहिचान गर्ने, नयाँ खेलाडीलाई अवसर दिने तथा स्व. जीतबहादुर दुरा र देशमान दुराको योगदानलाई स्मरण गर्दै सम्मान प्रकट गर्ने अभियानका रूपमा अघि बढाइएको उल्लेख गरे।
स्थानीय स्तरमा खेलकुदको विकासका लागि समुदाय, युवा र खेलप्रेमी सबैको साथ र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए। प्रतियोगिताबारे थप जानकारी तथा टिम दर्ताका लागि ९८१५१८०८८३, ९८२०६५६६२६, ९८१५१५८१९७ र ९८२९१५४५६८ मा सम्पर्क गर्न सकिनेछ। प्रतियोगिताका संयोजकलाई ९८२४१४९५२२ मा सम्पर्क गर्न सकिने आयोजक ग्यालेक्सी युवा क्लब व्यास–६, शिशाघाट, तनहुँले जनाएको छ।

















