प्रहार समाचार । काठमाडौँ, १५ कात्तिक २०८३ आइतबार । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिक विकसित न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुने भएको छ ।

माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव मात्र कायम रहेकाले मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।आज राति पनि देशभर आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई, उपत्यका तथा खोँचमा बिहानपख केही स्थानमा हुस्सु लाग्न सक्ने भएकाले यातायात तथा दैनिक जनजीवनमा सतर्कता अपनाउनुपर्ने देखिन्छ ।

















