प्रहार समाचार । काठमाडौं, १४ कात्तिक ३०८३ शनिबार । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहीबार साँझदेखि भइरहेको वर्षा आज पनि जारी रहने भएको छ। तस्बिर : प्रहार अनलाइन मिडिया

मौसममा आएको बदलीसँगै देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मौसम पूर्वानुमान महाशाखाले कोसी, मधेस र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने चेतावनी दिएको छ।महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ। कोसी, मधेस र वाग्मतीका धेरै स्थान तथा गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षा र हिमपात हुन सक्नेछ।
राति देशभर सामान्यतया बादल लाग्ने र हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। हाल बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषसँगै पश्चिमी वायुको आंशिक प्रभाव नेपालमा देखिएको छ। यसका कारण वर्षा र हिमपातको अवस्था सिर्जना भएको महाशाखाले जनाएको छ। यद्यपि, आज अपराह्नदेखि मौसमी प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जाने पूर्वानुमान छ। मौसमको प्रतिकूलताका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै यात्रा तथा बाहिरी गतिविधिमा सतर्कता अपनाउन आवश्यक देखिएको छ।

















