प्रहार समाचार । तनहुँ, १३ कात्तिक २०८३ शुक्रबार । तनहुँको व्यास नगरपालिका वडा नम्बर १ भादगाउँमा रहेको निर्मल माध्यामिक विद्यालयमा ‘साइन्स फेयर २०२६’ आज सम्पन्न भएको छ ।

विज्ञान तथा प्रविधिप्रतिको विद्यार्थीको रुचि अभिवृद्धि गर्ने, सिर्जनात्मक क्षमता विकास गर्ने र वैज्ञानिक सोच तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘साइन्स फेयर २०२६’ साइन्स टिचर्स एसोसिएसन अफ नेपाल (स्टान), व्यासनगर कमिटीको आयोजनामा विज्ञान मेला सम्पन्न भएको हो।

विज्ञानलाई पाठ्यपुस्तकमा सीमित नराखी प्रयोग, खोज र आविष्कारसँग जोड्नुपर्ने सन्देशसहित आयोजित मेलामा १५ विद्यालयका विद्यार्थीले विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न परियोजना प्रदर्शन गरेका थिए। विद्यार्थीले आफ्ना सिर्जना र प्रयोगमार्फत वैज्ञानिक सोच, व्यावहारिक ज्ञान तथा नवप्रवर्तनको क्षमता प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले जलवायु परिवर्तनलगायत विश्वले सामना गरिरहेका चुनौती समाधान गर्न नवप्रवर्तनमा आधारित शिक्षण सिकाइ आवश्यक रहेको बताए। उनले विज्ञानका प्रयोगात्मक गतिविधि र प्रदर्शनीलाई शैक्षिक क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिए। रिबिल्ड नेपाल एजुकेसन फाउन्डेसनका संस्थापक तथा अध्यक्ष अर्नेस्ट सिलरले विज्ञानप्रतिको आफ्नो लामो अनुभव र रुचि व्यक्त गर्दै नेपालमा पहिलोपटक प्रत्यक्ष रूपमा यस्तो कार्यक्रममा सहभागी हुन र सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले विज्ञान मेलामा सहभागी विद्यार्थीलाई सफलताको शुभकामना दिँदै उनीहरूको सिर्जनात्मक प्रयासको प्रशंसा गरे।

व्यास नगरपालिकाका शिक्षा अधिकारी केदारराज आचार्यले यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यावहारिक सीप हासिल गर्ने अवसर प्रदान गर्ने बताए। उनले नगरपालिकाले शिक्षासँग सम्बन्धित यस्ता सिर्जनात्मक तथा प्रयोगात्मक गतिविधिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।सहआयोजक निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक विमल सिग्देलले विज्ञान मेलाले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्नुका साथै आफ्नो सीप र क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्टान व्यासनगर कमिटीका अध्यक्ष सुनील पौडेलले विद्यार्थीमा वैज्ञानिक सोच, सिर्जनशीलता र नवप्रवर्तनको भावना विकास गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको उल्लेख गरे।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक विद्यालय निर्मल माध्यमिक विद्यालय प्रथम भएको छ। प्रथम स्थान हासिल गरेको विद्यालयले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

त्यस्तै, व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालय द्वितीय हुँदै ३० हजार, बन्दीपुर–डुम्रेस्थित पवित्रा माध्यमिक विद्यालय तृतीय हुँदै २० हजार तथा आदिकवि भानुभक्त माध्यमिक विद्यालय चौथो हुँदै १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।

प्रतियोगिताका निर्णायकमा अमेरिकाका अर्नेस्ट सिलर, डेभिड कर्न्स र ब्रायन पालक तथा नेपालका सुदीप आचार्य रहेका थिए। विजेता विद्यालयका टोलीलाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो। स्टान व्यासनगर कमिटीका अध्यक्ष सुनील पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण कमिटीका सचिव श्रीकृष्ण लामिछानेले गरेका थिए।

















