हेडलाईनसमाचारअन्तर्राष्ट्रिय समाचार

भुटानमा हिमताल फुटेको आशंकामा भीषण बाढी : सडक र चर्चित तातोपानी कुण्ड बगायो, भारतका नदी किनारमा सतर्कता

प्रहार समाचार । भुटान, १३ कात्तिक २०८३ शुक्रबार । भुटानको उत्तरी जिल्ला गासामा हिमताल फुटेको आशंकासहित आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। बिहीबार साँझ आएको बाढीले पुनाखा–गासा सडकको ठूलो खण्ड बगाउनुका साथै चर्चित गासा त्साचु तातोपानी कुण्डसमेत बगाएको छ। तस्बिर : डेलि भुटान

सिन्ताफू हिमतालबाट पानी बाहिरिएपछि आएको बाढीले सडक सम्पर्क विच्छेद गराएको छ भने सम्भावित बाढी भारतसम्म पुग्न सक्ने जोखिम बढेपछि पश्चिम बंगाल र आसामका नदी किनारका बस्तीलाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।डेली भुटानका अनुसार बिहीबार राति करिब ८ बजेर १५ मिनेटमा बाढीको पानी तक्त्सेमाखाङ क्षेत्रमा पुगेको थियो। बाढीले पुनाखा–गासा माध्यमिक राजमार्गको ३१.८५ किलोमिटर बिन्दुमा सडक पूर्ण रूपमा बगाएपछि यातायात बन्द गरिएको छ। स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ भने जोखिमयुक्त क्षेत्रमा साइरन बजाएर सचेत गराइएको छ। मो छु नदी हुँदै पुनाखा पुग्ने बाढी फो छु नदीमा मिसिएर पुनात्साङ्छु र भारत प्रवेश गरेपछि सन्कोस नदीका रूपमा बग्ने भएकाले भारतीय अधिकारीहरूले पनि नदी आसपासका बस्तीलाई सतर्क रहन आग्रह गरेका छन्।

शुक्रबार बिहानसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।भुटानमा हिमताल फुटेर बाढी आउन सक्ने जोखिम भएका १७ वटा हिमताल पहिचान गरिए पनि सिन्ताफू हिमतालबाट पानी बाहिरिनुको वास्तविक कारण, पानीको मात्रा र तालको वर्तमान अवस्थाबारे अझै यकिन हुन सकेको छैन। ताल पूर्ण रूपमा फुटेको हो वा कुनै भागबाट पानी बाहिरिएको मात्र हो भन्ने पनि पुष्टि भएको छैन। सन् २०२३ मै यस क्षेत्रमा हिमतालको अवस्था अध्ययन गरी निगरानी उपकरणसमेत जडान गरिएको थियो। हिमतालको जोखिम पहिचान र निगरानी हुँदै आए पनि प्राकृतिक विपद्ले सडक, पर्यटकीय सम्पदा र बस्तीलाई एकैपटक जोखिममा पार्नु गम्भीर चेतावनी बनेको छ। बाढीको थप जोखिम र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले भुटानदेखि भारतसम्म नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button