हेडलाईनसमाचारगण्डकीसूचना प्रविधि

मुस्ताङमा मौसम कहरको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म हिमाली पदयात्रा नगर्न प्रशासनकोआग्रह

प्रहार समाचार । मुस्ताङ, ११ कात्तिक २०८३ बुधबार । मौसम प्रतिकूल हुने सम्भावनालाई मध्यनजर गर्दै मुस्ताङ प्रशासन र लोमन्थाङ गाउँपालिकाले कात्तिक १२ देखि १४ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न तथा कोरला नाकातर्फको यात्रा स्थगित गर्न आग्रह गरेका छन् ।

गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम बढेको उल्लेख गरिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले चिसो बढ्ने, पहिरो जाने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । मौसमको जोखिमलाई बेवास्ता गरेर यात्रा गर्दा पर्यटक तथा यात्रुको ज्यानै जोखिममा पर्न सक्ने भएकाले सम्बन्धित निकायको सूचनालाई गम्भीरतापूर्वक लिन प्रशासनले अनुरोध गरेको छ ।

यसैगरी, लोमन्थाङ गाउँपालिकाले पनि मौसम अनुकूल नभएसम्म कोरला नाकातर्फ सवारीसाधन नलैजान यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार हिमपातले सडक चिप्लो हुने, सवारी दुर्घटना हुने र सडक अवरुद्ध हुन सक्ने जोखिम छ । मौसमको चेतावनीलाई सामान्य ठानेर जोखिमपूर्ण यात्रा नगर्न र सम्भावित दुर्घटना तथा मानवीय क्षति रोक्न समयमै सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button