प्रहार समाचार । तनहुँ,। ८ कात्तिक २०८३ आईतबार ‘ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा तीन सवारीसाधन एकपछि अर्को ठोक्किँदा नौ वर्षीया बालिकासहित दुई जना घाइते भएका छन्।

दमौलीबाट पोखरातर्फ जाँदै गरेको स्कारपिओ अनियन्त्रित भई डिभाइडर नाघेर विपरीत लेनमा पुगेपछि हिंजो दुर्घटना भएको हो। बा १९ च १४७७ नम्बरको स्कारपिओ र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको विद्युतीय माइक्रो एकआपसमा ठोक्किएका थिए। त्यसपछि अनियन्त्रित भएको स्कारपिओ डिभाइडर नाघेर पोखरा–दमौली लेनमा गई पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा विद्युतीय माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी नौ वर्षीया जेनिशा परियार घाइते भएका छन्। दुवै जनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। दुर्घटनापछि पनि राजमार्गमा यातायात अवरुद्ध नभएको जनाइएको छ। पृथ्वीराजमार्गमा सवारीसाधनको लापरबाही र असावधानीले निम्त्याउन सक्ने जोखिमप्रति यो दुर्घटनाले फेरि गम्भीर प्रश्न उठाएको छ।
























