प्रहार समाचार । काठमाडौँ, ६ कात्तिक ३०८३ शुक्रबार । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दसैँको टीका लगाउने क्रम आज द्वादशीमापनि जारी छ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनको आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्।

दशमीकै दिन टीका लगाउन नभ्याएका आफन्तलाई कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्पराले दसैँको धार्मिक र पारिवारिक रौनकलाई निरन्तरता दिएको छ।दसैँ केवल निधारमा टीका र कानमा जमरा सिउरिने पर्व मात्र होइन, यो मान्यजनप्रतिको श्रद्धा, आशीर्वादप्रतिको विश्वास र पारिवारिक एकताको प्रतीक पनि हो। टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ पुगेर टीका थाप्ने परम्पराले पुस्ताबीचको सम्बन्ध जोड्दै नेपाली मौलिक संस्कृति र सामाजिक सद्भावलाई जीवन्त राखेको छ।
तर दसैँको वास्तविक महत्त्व रातो टीकाको आकार, जमराको रङ वा देखावटी तडकभडकमा होइन, मान्यजनप्रतिको सम्मान, परिवारबीचको आत्मीयता र एकअर्काप्रतिको सद्भावमा छ। कोजाग्रत पूर्णिमासम्म जारी रहने टीकाको यो परम्पराले धार्मिक आस्था र सांस्कृतिक पहिचान जोगाउँदै सम्बन्धमा आत्मीयता, व्यवहारमा सम्मान र समाजमा एकताको सन्देश दिइरहेको छ।
























