प्रहार समाचार | तनहुँ, ५ कात्तिक २०८३ बिहीबार । दशैंमा परिवारसँग रमाउने, आफन्तसँग भेटघाट गर्ने र व्यस्त दैनिकीबाट समय निकालेर खुसी साट्ने योजना छ? टाढाको यात्रा र महँगो खर्चबिना प्रकृतिको शान्त वातावरणमा पारिवारिक घुमफिर गर्न चाहनेहरूका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली आकर्षक गन्तव्य बन्न सक्छ।

जडीबुटी उद्यान, बाल उद्यान, हरियाली वातावरण, स्थानीय परिकार र आरामदायी बसाइको सुविधा एकै ठाउँमा उपलब्ध झाँगाझोलीले दशैंको बिदालाई अविस्मरणीय बनाउने सम्भावना बोकेको छ।पृथ्वीराजमार्गको खैरेनीटार बजारबाट तीनखोलेदेवी मन्दिर जाने बाटोतर्फ करिब २.५ किलोमिटर अगाडि पुगेपछि झाँगाझोली पुगिन्छ। पूर्ण रूपमा कालोपत्रे सडक र पर्याप्त पार्किङको सुविधाले निजी सवारीसाधनमा परिवारसहित पुग्न सहज बनाएको छ। यहाँको ‘गौरादेवी प्राकृतिक जडीबुटी उद्यान’ करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ, जहाँ दुई सयभन्दा बढी प्रजातिका जडीबुटी तथा वनस्पतिका बिरुवा रोपिएका छन्।

रुद्राक्ष, तेजपात, श्रीखण्ड, अश्वगन्धा, तुलसी, नीम, टिमुर र लोटसल्लालगायत वनस्पतिको अवलोकन गर्न सकिने भएकाले यो मनोरञ्जनसँगै ज्ञान आर्जन गर्ने थलोसमेत बनेको छ। जनावरका आकर्षक मूर्ति, ५० भन्दा बढी प्रजातिका फलफूलका बिरुवा, बाल उद्यान र प्राकृतिक वातावरणले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई आकर्षित गर्न सक्छ।झाँगाझोलीको अर्को आकर्षण स्थानीय स्वाद र पारिवारिक जमघट हो। यहाँ लोकल कुखुरा तथा कालिजका परिकारको स्वाद लिनुका साथै परिवार र आफन्तसँग एउटै ठाउँमा बसेर रमाइलो समय बिताउन सकिन्छ। जन्मदिन, वैवाहिक वर्षगाँठ तथा पारिवारिक जमघटका लागि क्याम्प फायर र कार्यक्रम हलको सुविधा पनि छ। एकै दिन घुमेर फर्किन वा रात बिताउन चाहनेका लागि एसीसहितका कोठा प्रतिकोठा दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्ममा उपलब्ध रहेको विवरण छ। झाँगाझोली एग्रो टुरिजम प्रालिका सञ्चालक बाशुराज दाहालका अनुसार बिदाका दिन यहाँ पाँच सयभन्दा बढी र अन्य दिनमा करिब दुई सय आन्तरिक पर्यटक आउने गरेका छन्।

एक करोड ५० लाख बढिको लागतमा रुपैयाँको लागतमा स्थापना गरिएको उद्यान तथा भौतिक संरचनाले यस क्षेत्रको पर्यटकीय सम्भावना बढाएको छ।सिन्धुलीको सुनकोशी गाउँपालिका–३ झाँगाझोली निवासी ८९ वर्षीया गौरादेवी दाहालको नाममा स्थापना गरिएको उद्यानलाई जडीबुटी तथा वनस्पति संरक्षण, शैक्षिक अध्ययन र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। प्रकृति, मनोरञ्जन, स्थानीय खानपान र पारिवारिक आत्मीयतालाई एकै ठाउँमा अनुभव गर्न सकिने झाँगाझोलीले तनहुँको आन्तरिक पर्यटन प्रवर्द्धनमा थप योगदान दिन सक्छ। दशैंमा घुमफिरका लागि टाढा पुग्नैपर्छ भन्ने सोचभन्दा माथि उठेर आफ्नै जिल्लाका यस्ता गन्तव्यको पहिचान, प्रचार र उपयोग गर्न सके स्थानीय पर्यटन तथा अर्थतन्त्रलाई समेत टेवा पुग्न सक्छ। यसपालिको दशैंमा परिवारसँग खुसी साट्ने नयाँ गन्तव्य खोज्दै हुनुहुन्छ भने झाँगाझोलीलाई आफ्नो घुमफिरको सूचीमा राख्न सकिन्छ।

























