हेडलाईनसमाचारगण्डकीखेलकुद

लमजुङमा आयोजित छैटौँ भोटेवडार–तार्कुकोट मिनि म्याराथनको उपाधि तनहुँका गुरुङलाई

• विजय अधिकारी (संवाददाता) लमजुङ, १ कात्तिक २०८३ आइतबार । लमजुङको तार्कुकोटको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्त्व उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित छैटौँ भोटेवडार–तार्कुकोट मिनि म्याराथनमको उपाधि तनहुँका सनम गुरुङले जितेका छन् ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का गुरुङले सात किलोमिटर दूरी ३४ मिनेट ५८ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । प्रतियोगितामा खोटाङ गाउँपालिका–६ का धिरन राईले ३६ मिनेट २४ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ का पृथ्वी राईले ३६ मिनेट ४० सेकेन्डमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे । गोरखाको पालुङटार नगरपालिका–३ का सरोज गिरी ३८ मिनेट ४० सेकेन्डमा दौड पूरा गर्दै सान्त्वना स्थानमा सीमित भए । अकला युथ क्लबको आयोजनामा सुन्दरबजार नगरपालिका–८, भोटेवडारस्थित डिडिसी खेलमैदानबाट सुरु भएको प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखा, ओखलढुंगा र खोटाङलगायत जिल्लाका २४ धावक सहभागी थिए । विजेता गुरुङले १५ हजार, दोस्रो भएका राईले १० हजार, तेस्रो भएका राईले पाँच हजार र सान्त्वना स्थान हासिल गरेका गिरीले दुई हजार पाँच सय रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका सबैभन्दा कान्छा प्रतिस्पर्धी सुन्दरबजार नगरपालिका–८ का १३ वर्षीय सुगम पहारीलाई प्रोत्साहनस्वरूप एक हजार रुपैयाँ प्रदान गरिएको संयोजक सुलभ ढकालले प्रहार समाचारलाई बताए । प्रतियोगिताको उद्घाटन स्थानीय ज्येष्ठ नागरिक तथा समाजसेवी तिलकबहादुर कार्कीले गरेका थिए ।तार्कुकोटको पहिचानलाई दौडमार्फत राष्ट्रियस्तरमा स्थापित गर्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा अकला युथ क्लबका अध्यक्ष अभिषेक ढकाल, सुन्दरबजार नगरपालिका–८ का वडाध्यक्ष बिजेन्द्र थापा, वडा नं. ९ का वडाध्यक्ष मनराज गुरुङ, पूर्ववडाध्यक्ष कृष्णकान्त अधिकारी, वडा सदस्य केशरबहादुर कुँवर तथा राष्ट्रिय एथलेटिक्स खेलाडी राजेन्द्र कुँवरलगायत सहभागी थिए । आयोजकले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित अनुज अधिकारीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै क्लबलाई आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्ने व्यक्ति तथा संस्थालाई पनि कदर गरेको थियो । प्रतियोगिताले तार्कुकोटको पर्यटन सम्भावना उजागर गर्ने सन्देश दिए पनि यसको दीर्घकालीन प्रभावका लागि प्रचारसँगै पूर्वाधार विकास, पर्यटकीय सुविधा र निरन्तर प्रवर्द्धनमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button