हेडलाईनव्याससमाचारगण्डकी

तनहुँ समाज हङकङद्वारा तनहुँका दुई पत्रकारलाई सम्मान

प्रहार समाचार । तनहुँ, ११ मंसिर २०८३ शुक्रबार । प्रवासमा रहेर पनि जन्मभूमिको सामाजिक तथा परोपकारी सेवामा सक्रिय तनहुँ समाज हङकङले जिल्लाका दुई युवा पत्रकारलाई सम्मान गरेको छ।

समाजले प्रदान गर्दै आएको ‘तनहुँ समाज हङकङ युवा पत्रकारिता पुरस्कार’ यस वर्ष क्रियाशील पत्रकार सम्झना रसाइली र पूर्ण विकेलाई प्रदान गरेको हो। समाजले तनहुँमा स्वास्थ्य, शिक्षा तथा विपद्का क्षेत्रमा गर्दै आएका सहयोगमूलक गतिविधिलाई पत्रकारितामार्फत जनसमक्ष पुर्‍याउन योगदान गरेको भन्दै दुवै पत्रकारलाई पुरस्कृत गरिएको हो। नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले बिहीबार दमौलीमा आयोजना गरेको कार्यक्रममा समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ, महासङ्घका अध्यक्ष डिपी अधिकारी र संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीले सम्मानपत्र र दोसल्लासहित जनही पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरे।

प्रवासको कमाइ जन्मभूमिको सेवामा, विपन्नको उपचारदेखि विद्यार्थीको छात्रवृत्तिसम्म तनहुँ समाज हङकङले जिल्लाका विपन्न बिरामीलाई आर्थिक सहयोग, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा विभिन्न विपद्का समयमा राहत सहयोग गर्दै आएको छ। भूकम्प, कोभिड महामारी र रसुवाको भोटेकोशी बाढीलगायतका विपद्मा समेत समाजले आर्थिक सहयोग गरेको पूर्वअध्यक्ष गुरुङले बताए। उनले समाजका यस्ता सामाजिक कार्यलाई समुदायसम्म पुर्‍याउन जिल्लाका सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे। कार्यक्रममा तनहुँ संयोजक प्रदीप काफ्लेले समाजले जिल्लामा सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी गराएका थिए।

पत्रकारिता पुरस्कारको निरन्तरता यसअघि उक्त पुरस्कारबाट ओमकार आचार्य, सोनी शर्मा, सुनिता आचार्य, कृष्ण न्यौपाने, प्रताप राना, नारायण खड्का र अमरराज नहर्की सम्मानित भइसकेका छन्। कार्यक्रममा महासङ्घका अध्यक्ष डिपी अधिकारी, संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, निवर्तमान अध्यक्ष उज्वल पौडेल, पूर्वअध्यक्षहरू डम्बरबहादुर अधिकारी र ओमकार आचार्य तथा सम्मानित पत्रकार सम्झना रसाइलीले समाजको सामाजिक योगदानको प्रशंसा गर्दै प्रवासबाट जन्मभूमिप्रतिको सम्बन्ध र सहयोगलाई निरन्तरता दिनु प्रशंसनीय भएको बताए। कार्यक्रमको सहजीकरण महासङ्घका सचिव कृष्ण न्यौपानेले गरेका थिए।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button