प्रहार समाचार । तनहुँ, ८ मंसिर २०८३ मंगलबार । अन्तर्राष्ट्रिय खेलमञ्चमा तनहुँको भिमादले आफ्नो शक्ति प्रदर्शन गरेको छ। काठमाडौँमा सम्पन्न आठौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा भिमादका खेलाडीले एकपछि अर्को पदक कब्जा गर्दै १९ पदक जितेका छन्।

भारत, बङ्गलादेश, अफगानिस्तान र इथियोपियाका खेलाडीसँग प्रतिस्पर्धा गर्दै भिमादका खेलाडीले ७ स्वर्ण, ५ रजत र ७ कास्य पदक जितेर जिल्लाकै खेलकुद क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। करिब ७५० खेलाडी सहभागी प्रतियोगितामा भिमादको यो प्रदर्शन सामान्य सफलता मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्थानीय प्रतिभाको सशक्त उपस्थिति हो।प्रतियोगितामा विवेक बि.क., विविका रोका, जेनिशा गुरुङ, मनिषा के.सी., कमल थापा, गौरव थापा, मेलिशा थापा, आरजु थापा, एलिना थापा, आर्यन कुमाल, अन्चु देवी सेन ठकुरी, मनिष बि.क. र आयुष गुरुङले विभिन्न विधामा पदक जितेका छन्। व्यक्तिगत स्पर्धादेखि समूहगत प्याट्रनसम्म भिमादका खेलाडीले आफ्नो कौशल देखाएका छन्।

विशेषगरी मनिषा के.सी.ले तीन स्वर्ण र एक रजत, विविका रोकाले दुई स्वर्ण र एक कास्य तथा आरजु थापाले दुई स्वर्ण र एक कास्य पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।समूहगत प्रतिस्पर्धामा पनि भिमादको दबदबा देखिएको छ। विविका रोका, जेनिशा गुरुङ, मनिषा के.सी., मेलिशा थापा र आरजु थापाको महिला टोलीले स्वर्ण पदक जित्दा विवेक बि.क., कमल थापा, गौरव थापा, आर्यन कुमाल र आयुष गुरुङको पुरुष टोलीले रजत पदक हात पारेको छ। यस सफलताले भिमादमा खेल प्रतिभाको अभाव नभई अवसर, प्रशिक्षण र प्रोत्साहनको आवश्यकता रहेको सन्देश दिएको छ।गण्डकी प्रदेश तेक्वान्दो संघका उपाध्यक्ष आकाशचन्द्र घर्ती मगरका अनुसार भिमादका खेलाडीले हासिल गरेको यो उपलब्धिले समग्र तनहुँको खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको छ।

तर १९ पदकको यो सफलतालाई सम्मानमा सीमित राखेर पुग्दैन। यस्ता प्रतिभालाई नियमित प्रशिक्षण, पूर्वाधार, आर्थिक सहयोग र राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिन सके मात्रै भिमादको यो जित दीर्घकालीन खेलकुद उपलब्धिमा बदलिन सक्छ। अन्तर्राष्ट्रिय मञ्चमा पदक जित्ने भिमादका खेलाडीले अब राज्य र सम्बन्धित निकायको ध्यान पनि उत्तिकै खोजेका छन्।











