• विजय अधिकारी (संवाददाता) लमजुङ, ५ मंसिर २०८३ शनिबार । लमजुङका कृषक बुद्धिसागर पौडेलले आफ्नै बारीमा १८ किलो १ सय ९० ग्राम तौलको विशाल फर्सी फलाएका छन्।

आज दुईपिप्लेमा आयोजित ‘१९औँ शनिबारे मध्यनेपाल रैथाने हाटबजार’ मा बिक्रीका लागि ल्याइएको उक्त फर्सीले बजारमा पुगेका उपभोक्ता र आगन्तुकको ध्यान खिचेको छ। स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको हाटबजारमा पौडेलले ल्याएको फर्सी आकार र तौलका कारण चर्चाको विषय बनेको हो।
सामान्यतया घरायसी प्रयोजनका लागि उत्पादन गरिने फर्सीभन्दा निकै ठूलो आकारको फर्सी देखेपछि हाटबजारमा आउनेहरू उत्सुकतापूर्वक हेर्न र तौल बुझ्न पुगेका थिए। उनको उत्पादनले स्थानीय कृषि उपजमा रहेको सम्भावनालाई समेत उजागर गरेको छ। स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म पुर्याउने माध्यम बनेको रैथाने हाटबजारले किसानको मेहनतलाई चिनाउने अवसरसमेत दिएको छ।

बुद्धिसागर पौडेलले फलाएको फर्सी केवल एउटा कृषि उत्पादन मात्र होइन, स्थानीय कृषि उत्पादनको विविधता र सम्भावनाको उदाहरण पनि बनेको छ। यस्ता उत्पादनलाई प्रोत्साहन र उचित बजारको व्यवस्था गर्न सके स्थानीय कृषि तथा किसानको मेहनतले थप मूल्य पाउने देखिन्छ।












