प्रहार समाचार । तनहुँ, २ मंसिर २०८३ बुधबार । तनहुँको व्यास नगरपालिका–१, भादगाउँमा आजदेखि ‘चौथो दमौली भोटिबजार भादगाउँ सांस्कृतिक महोत्सव–२०८३’ सुरु हुँदैछ।

‘हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो स्वाभिमान, हरिबोधनी एकादशी महोत्सव हाम्रो साझा पहिचान’ भन्ने नारासहित दोभान युवा क्लबको आयोजनामा मंसिर १३ गतेसम्म सञ्चालन हुने महोत्सवले यसपटक विगतभन्दा फरक आकर्षण प्रस्तुत गर्ने तयारी गरेको छ।

एकादशी बजार लाग्ने स्थानमा आयोजना हुने महोत्सवको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष नलबहादुर दरैले जानकारी दिए।

यसपटक महोत्सवको मुख्य आकर्षणका रूपमा लण्डन ब्रिज र भ्यू टावर रहनेछन्। दर्शकलाई नयाँपनको अनुभव दिलाउने र महोत्सवप्रति आकर्षण बढाउने उद्देश्यले यी संरचना तयार पारिएको आयोजकको भनाइ छ। महोत्सवलाई केवल रमाइलो र किनमेलमा सीमित नराखी स्थानीय कला, संस्कृति र मौलिक परम्पराको पहिचान स्थापित गर्ने अवसरका रूपमा विकास गर्न खोजिएको छ।

सह–आयोजक दोभान आमा समूहकी अध्यक्ष राधिका थापाले धर्म, संस्कृति र स्वाभिमानको संरक्षण गर्दै स्थानीयलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताइन्।तर महोत्सवको वास्तविक सफलता लण्डन ब्रिज र भ्यू टावरजस्ता आकर्षणमा मात्रै निर्भर रहने छैन। स्थानीय उत्पादनको बिक्री, व्यवसायीको कारोबार, मौलिक कला–संस्कृतिको प्रदर्शन र स्थानीयले पाउने आर्थिक लाभले नै महोत्सवको सार्थकता निर्धारण गर्नेछ। स्थानीय व्यापार, पर्यटन र आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षासहित आयोजना हुन लागेको महोत्सव सफल बनाउन दोभान युवा क्लब र दोभान आमा समूह जुटेका छन्। आयोजकले उल्लेख्य दर्शक सहभागिता र राम्रो आर्थिक कारोबारको अपेक्षा गरेका छन्।






















