हेडलाईनसमाचारबागमती

संविधानसभामा पुग्दा बस्ने घर थिएन, राजनीति टिकाउन रक्सी बेचिन् : सान्ताको संघर्षले खोल्यो राजनीतिको अर्को पाटो

प्रहार समाचार । काठमाडौं, १ मंसिर २०८३ मंगलबार । संविधानसभाको सदस्य बनेर देशको संविधान निर्माणमा सहभागी हुँदा आफ्नै नाममा बस्ने घरसमेत नभएको एउटा संघर्षशील महिलाको कथा अहिले सार्वजनिक भएको छ। पूर्वकमलरी तथा पूर्वसंविधानसभा सदस्य सान्ता चौधरीले आफ्नो जीवनका पीडादायी दिन पहिलोपटक सार्वजनिक गर्दै राजनीति, गरिबी र पारिवारिक विछोडबीच आफूले गरेको संघर्ष सुनाएकी छन्।

२०६४ सालमा संविधानसभामा प्रवेश गर्दा सामुदायिक वनको जग्गामा बनेको झुप्रो उनको आश्रय थियो। पटक–पटक डोजर लगाएर भत्काइएको र आगोसमेत लगाइएको त्यही घरमा उनले जीवन गुजारेकी थिइन्। संविधानसभा विघटनपछि काठमाडौंमा बस्ने आधार र भाडा तिर्ने पैसा नभएर दाङ फर्किनुपर्‍यो। त्यसमाथि श्रीमान्ले समेत अर्को विवाह गरेर साथ छोडेपछि दुई साना छोराछोरीको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो।राजनीतिमा पहिचान बनाएकी सान्ताको अर्को परिचय बिहान चार बजे उठेर रक्सी बेच्ने एक संघर्षशील आमाको थियो। छोराछोरीको पेट पाल्न र पढाउन उनले मजदुरी गरिन्, राति चार बजे उठेर घरेलु मदिरा तयार पारिन् र बिहानै जर्किन तथा ग्यालेन बोकेर होटल–होटलमा पुर्‍याउँदै बेचिन्। कमाउने अर्को सहारा नभएपछि आफ्नै पसिनाले सन्तानको भविष्य बनाउन उनी बाध्य थिइन्। पछि ब्युटीपार्लरको तालिम लिएर आफ्नै व्यवसायसमेत सुरु गरिन्। तर राजनीतिप्रतिको मोह मरेन।

२०७० सालको निर्वाचनमा उम्मेदवारी दिइन्, तर आर्थिक अभाव उनको चुनावी अभियानको सबैभन्दा ठूलो बाधक बन्यो। प्रतिस्पर्धी उम्मेदवार गाडीमा प्रचार गरिरहँदा उनी भने साइकल चढेर मतदाताको घरदैलो पुगिन् र पराजय भोगिन्।सान्ताको यो खुलासाले नेपाली राजनीतिको एउटा तीतो यथार्थ उजागर गरेको छ—संविधान बनाउने तहमा पुगेका व्यक्तिको आफ्नै जीवन भने कति अभाव र असुरक्षाबीच गुज्रिएको रहेछ! राजनीतिको मञ्चमा भाषण गर्ने अवसर पाउनु र राजनीतिक यात्रा निरन्तरता दिन सक्ने आर्थिक आधार हुनु फरक कुरा रहेछ भन्ने उनको अनुभवले देखाएको छ। एउटा पूर्वकमलरीले संविधानसभासम्मको यात्रा तय गरिन्, तर राजनीतिक उतारचढावपछि सन्तान पाल्न घरमै रक्सी बेच्नुपर्ने अवस्था आयो। यो केवल सान्ता चौधरीको व्यक्तिगत पीडा होइन, सामाजिक विभेद, आर्थिक असमानता र राजनीतिमा पैसाको प्रभावमाथि उठेको गम्भीर प्रश्न पनि हो।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button