आँबुखैरेनीहेडलाईनव्याससमाचारगण्डकीम्याग्दे

सम्पादकीय: फूलमा आत्मनिर्भर बन्दै तनहुँ

तिहार सकिएसँगै सयपत्री र मखमली फूलको कारोबार पनि घटेको छ। तर यस वर्ष तनहुँका बजारमा देखिएको एउटा सकारात्मक परिवर्तनले जिल्लाको कृषि क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। केही वर्षअघिसम्म तिहारमा प्रयोग हुने अधिकांश फूल अन्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था थियो। पछिल्ला दुई–तीन वर्षयता भने आँबुखैरेनी र म्याग्दे गाउँपालिकाका किसान व्यावसायिक पुष्प खेतीमा आकर्षित भएका छन्।

स्थानीय उत्पादनले बजार पाउन थालेपछि किसानको आम्दानी बढ्नुका साथै जिल्ला फूलमा आत्मनिर्भर बन्ने दिशामा अघि बढेको छ।यस अभियानमा स्थानीय सरकारको प्रोत्साहन र अनुदानले महत्त्वपूर्ण भूमिका खेलेको छ। आँबुखैरेनी गाउँपालिकाले पुष्प खेतीलाई प्राथमिकतामा राख्दै किसानलाई अनुदान र प्रोत्साहन प्रदान गर्दै आएको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार किसानको आर्थिक अवस्था सुधार गर्नु र पालिकालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउनु पालिकाको मुख्य उद्देश्य हो। पालिकाकै पहलमा गत वर्ष उत्पादित फूल कतारसम्म निर्यात हुनुले स्थानीय पुष्प खेतीको सम्भावना र बजार विस्तारको अवसरसमेत उजागर गरेको छ।

त्यसैगरी, म्याग्दे गाउँपालिकाले पनि पुष्प खेतीमा अनुदान उपलब्ध गराउँदै किसानको आयआर्जन बढाउने र पालिकालाई फूलमा आत्मनिर्भर बनाउने अभियान अघि बढाएको छ। गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुष्प खेतीलाई किसानको आम्दानीको भरपर्दो माध्यम बनाउने प्रयास भइरहेको बताएका छन्।पुष्प खेती विस्तारको अभियानमा व्यास नगरपालिका पनि जोडिएको छ। यस वर्षदेखि सात जना किसानलाई पुष्प खेतीका लागि अनुदान उपलब्ध गराएर नगरपालिकाले स्थानीय उत्पादन बढाउने पहल थालेको छ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेका अनुसार जिल्लालाई क्रमशः फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई प्रोत्साहन गरिएको हो। स्थानीय सरकारको यो प्रयासले व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढाउनुका साथै बाहिरी जिल्लाबाट फूल आयात गर्नुपर्ने निर्भरता घटाउने अपेक्षा गर्न सकिन्छ।तनहुँलाई फूलमा आत्मनिर्भर बनाउने अभियानलाई तिहारको माग पूरा गर्ने मौसमी कार्यक्रमका रूपमा मात्र सीमित राख्नु हुँदैन। पुष्प खेतीलाई वर्षभरि उत्पादन, बजारीकरण र रोजगारीसँग जोड्न आवश्यक छ।

किसानलाई उत्पादन सामग्री, प्राविधिक ज्ञान, आधुनिक प्रविधि, भण्डारण तथा बजारको सुनिश्चितता दिन सके फूल खेती जिल्लाको आर्थिक समृद्धिको नयाँ आधार बन्न सक्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति, पालिकाबीचको समन्वय र किसानको व्यावसायिक लगनशीलता कायम रहन सके तनहुँले फूलमा आत्मनिर्भर हुने मात्र होइन, अन्य जिल्ला तथा विदेशमा समेत फूल निर्यात गर्ने सम्भावना बोकेको छ। अब स्थानीय सरकारको ध्यान अनुदान वितरणमा मात्र होइन, उत्पादनदेखि बजारसम्मको दिगो व्यवस्थापनमा केन्द्रित हुनुपर्छ। ३० कात्तिक २०८३



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button