प्रहार समाचार । तनहुँ, २७ कात्तिक २०८३ शुक्रबार । ‘पहाडकी रानी’ उपनामले परिचित बन्दीपुरको पर्यटकीय आकर्षण थप फराकिलो बनाउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा नेपालकै ठूलो राष्ट्रिय झण्डासहितको झण्डा पार्क निर्माण भइरहेको छ।

देशप्रेमलाई पर्यटनसँग जोड्ने लक्ष्यसहित अघि बढाइएको यस महत्वाकांक्षी परियोजनामा ६७ फिट अग्लो पोलमा ४५ फिटको विशाल राष्ट्रिय झण्डा फहराउने तयारी गरिएको छ।निर्माणाधीन पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा पहिलोपटक बिहीबार बन्दीपुरमा सार्वजनिक प्रदर्शन गरिएको छ। झण्डा प्रदर्शन कार्यक्रमबाट करिब ९० हजार रुपैयाँ सहयोग संकलन भएको अभियन्ता टिकाराम गिरीले जानकारी दिएका छन्। स्थानीयवासी, विभिन्न क्षेत्रका व्यक्तित्व तथा स्वदेश र विदेशमा रहेका नेपालीको स्वस्फूर्त सहयोगबाट परियोजना अघि बढिरहेको छ।यो केवल एउटा झण्डा राख्ने परियोजना मात्र होइन, राष्ट्रिय पहिचान, सामुदायिक एकता र स्थानीय पर्यटनलाई एउटै सूत्रमा जोड्ने प्रयास पनि हो। प्रारम्भिक चरणमा करिब २५ लाख रुपैयाँ बराबरको काम सम्पन्न गरी राष्ट्रिय झण्डा, फूलबगैँचा, कल्याणेश्वर महादेवको मन्दिर र दृश्यावलोकनका लागि भ्यु पोइन्टसहित करिब ३० लाख रुपैयाँ बराबरका संरचना उद्घाटन गर्ने तयारी छ। समग्र परियोजना भने करिब ३ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पार्कमा पर्यटकलाई आकर्षित गर्ने दृश्यावलोकन स्थल, फोटो तथा टिकटक खिच्न मिल्ने आकर्षक संरचना र व्यवस्थित फूलबगैँचा निर्माण गरिनेछ। यस क्षेत्रलाई भुत्याई बराह मन्दिर क्षेत्रसँग जोडेर धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि अघि सारिएको छ।यस परियोजनाको अर्को विशेषता यसको सहज पहुँच र दृश्यावलोकन हो। पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुदेखि बन्दीपुरको प्रसिद्ध टुँडिखेलमा पुग्ने पर्यटकले समेत विशाल राष्ट्रिय झण्डा अवलोकन गर्न सक्नेछन्। डुम्रेबाट करिब ५.५ किलोमिटर, बेलभञ्ज्याङबाट १.५ किलोमिटर र दमौलीबाट करिब १३ किलोमिटर दूरीमा रहेको यो स्थल पर्यटकका लागि थप आकर्षण बन्न सक्ने सम्भावना बोकेको छ।
परियोजनालाई थप व्यवस्थित र आर्थिक रूपमा सबल बनाउन डुम्रे र दमौलीमा समेत राष्ट्रिय झण्डा प्रदर्शन गरी सहयोग संकलन गर्ने तयारी भइरहेको अभियन्ता गिरीले बताएका छन्। स्थानीयको श्रम, सहयोगी मन र विदेशमा रहेका नेपालीको आर्थिक सहभागिताले अघि बढेको यो अभियानले सामुदायिक पहलबाट पनि ठूलो पर्यटकीय पूर्वाधार निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, मौलिक नेवारी संस्कृति र पर्यटकीय पहिचानले परिचित बन्दीपुरमा राष्ट्रिय झण्डा पार्क निर्माण सम्पन्न भए पर्यटकका लागि अर्को नयाँ गन्तव्य थपिनेछ। तर, यसको वास्तविक सफलता आकर्षक संरचना निर्माणमा मात्र सीमित नभई दीर्घकालीन संरक्षण, व्यवस्थापन, प्रचारप्रसार र स्थानीयको आर्थिक लाभसँग जोडिनु आवश्यक छ। राष्ट्रिय झण्डाको उचाइसँगै बन्दीपुरको पर्यटन र स्थानीय अर्थतन्त्र पनि उचाइमा पुर्याउन सके यो परियोजना जिल्लाकै उदाहरणीय पर्यटकीय सम्पत्ति बन्न सक्छ ।
























