प्रहार समाचार । मकवानपुर । २६ कात्तिक २०८३ बिहीबार । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान भएको भीषण ईभी दुर्घटनाले १० जनाको ज्यान लिएको छ।

काठमाडौंको यात्रामा निस्किएको गाडी सडकबाट करिब ७०० मिटर तल खस्दा तीन महिला, दुई बालिका र पाँच पुरुषको घटनास्थलमै वा उद्धारका क्रममा मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। एउटै गाडीमा सवार १५ जनामध्ये दुई तिहाइ यात्रुले ज्यान गुमाउनुपरेको यो दुर्घटना अत्यन्तै दर्दनाक बनेको छ। प्रारम्भिक विवरणअनुसार सर्लाहीका यात्रु बोकेर बिहीबार बिहान काठमाडौंवाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी बिहान करिब ६ बजेर १० मिनेटमा चिसापानी गढीमा अनियन्त्रित भई सडकबाट करिब ७०० मिटर तल खसेको थियो। दुर्घटनाको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेको छ।
सडकबाट सयौँ मिटर तल गाडी खस्दा भएको ठूलो मानवीय क्षतिले घटनास्थलमा त्रासदीपूर्ण अवस्था सिर्जना गरेको छ। दुर्घटनाको वास्तविक कारण, मृतक तथा घाइतेको विस्तृत पहिचान र घटनाको अन्य विवरण आउन बाँकी रहेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। उद्धार कार्य जारी रहेकाले मृतक तथा घाइतेको संख्या र अवस्थाबारे थप विवरण आउन बाँकी छ।
























