प्रहार समाचार । काठमाडौं, २४ कात्तिक २०८३ मंगलबार । नेपाल संवत् ११४७ आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । गरिब जनताको ऋणमोचन गरेर सामाजिक न्याय र सेवाको ऐतिहासिक सन्देश दिएको मौलिक संवत् नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा गरी आफ्नो अस्तित्व, पहिचान र संस्कृतिको सम्मान गर्दैछन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गराई नेपाल संवत् सुरु गराएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपालकै मौलिक यो संवत्ले कुनै समय राष्ट्रिय संवत्को मान्यता पाएको थियो । तर, समयक्रममा यसको प्रयोग र महत्व खुम्चिँदै गए पनि नेवार समुदायले आफ्नो भाषा, संस्कृति र सभ्यताको पहिचानका रूपमा यसलाई निरन्तर जोगाउँदै आएको छ ।

ऋणमोचन, सामाजिक सद्भाव र मौलिक पहिचानको गौरव बोकेको नेपाल संवत् केवल पात्रो परिवर्तन होइन, नेपाली इतिहास र सभ्यताको जीवन्त दस्तावेज हो । विसं २०५६ मा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने विसं २०६५ मा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरिएको थियो । काठमाडौँ उपत्यकासहित नेवार समुदायको बाहुल्यता रहेका विभिन्न स्थानमा विशेष उत्साहका साथ मनाइने यस पर्वले मौलिक संस्कृति संरक्षण र ऐतिहासिक योगदानको सम्मान गर्न राज्यलाई पुनः स्मरण गराएको छ ।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा आज नेवार समुदायले म्हः (आत्म) पूजा गर्दैछन् । मानिसको आत्मा सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्मालाई सन्तुष्ट र प्रसन्न राख्न म्हः पूजा गर्ने परम्परा रहेको बताइन्छ । ध आत्मा प्रसन्न भए देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र मानव जीवन सार्थक हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ । यस वर्ष सोमबार र मंगलबार दुई दिन प्रतिपदा तिथि परेकाले नेपाल संवत्को नयाँ वर्ष र म्हः पूजा मनाउने दिनमा केही स्थानमा भिन्नता देखिएको छ । केही स्थानमा सोमबार नै नयाँ वर्ष मनाइएको छ भने नेवार समुदायका केही समूहले आज म्हः पूजा गर्दैछन् ।
























