प्रहार समाचार । तनहुँ, २१ कात्तिक २०८३ शनिबार । विकासकालागि वडाबाट विनियोजित सरकाररी बजेट सङ्गै गाउँको सिंढि बाटो निर्माणका लागि व्यास नगरपालिका–१३ बेनीकोट का स्थानिय आफ्नै गाउँ बनाउन कम्मर कसेर श्रमदानमा एकजुट भएर जुटेका छन्।

वडाबाट विनियोजित दुई लाख रुपैयाँमा स्थानीयको आर्थिक सहयोग र श्रमदान थपेर गाउँका टोलटोलमा सिँढी तथा गोरेटो बाटो निर्माण र ढलानको काम अघि बढाइएको छ। करिब ३५ घरधुरी रहेको गाउँमा कसैले पैसा जुटाएका छन्, कसैले पसिना बगाएका छन् त कसैले निर्माणमा खटिएकाहरूका लागि खाजा र चिसो पेय पदार्थको व्यवस्था गरेका छन्।

गाउँ विकासका नाममा बजेट र योजना मात्रै देखाउने प्रवृत्तिबीच बेनीकोटवासीले भने काम गरेरै विकासको उदाहरण प्रस्तुत गरेका छन्। मित्रता टोलका अध्यक्ष केसर थापाको नेतृत्वमा सञ्चालित अभियानमा स्थानीय बुद्धिजीवी सुबिलाल आलेको समन्वयकारी भूमिका रहेको छ।

आमा समूहकी अध्यक्ष लक्ष्मी थापा र सिद्धबाबा युवा क्लबका अध्यक्ष मनिस थापासहित स्थानीयवासी अभियानमा सक्रिय छन्। हाल मित्रता, माझकोट, डाँडावारी र शान्ति गरी चारवटा टोलमा बाटो निर्माण तथा ढलानको काम भइरहेको छ। दुई जना मिस्त्री परिचालन गरिए पनि अधिकांश काम गाउँलेले नै श्रमदानमार्फत गरिरहेका छन्। देश तथा विदेशमा रहेका युवाहरूलाई समेत सहयोगका लागि आह्वान गरिएको छ भने सहयोग रकमको कुनै सीमा तोकिएको छैन।

सक्नेले पैसा र नसक्नेले श्रम दिएर गाउँ बनाउने अभियानमा जोडिएका छन्।बेनीकोटवासीको यो अभियान सामान्य बाटो निर्माणमा मात्र सीमित छैन, सरकारी बजेटलाई जनताको श्रम, सहयोग र अपनत्वसँग जोड्ने विकासको व्यवहारिक नमुना पनि हो। विकासका लागि ठूलो बजेट र सरकारी योजनाको प्रतीक्षा गर्नैपर्छ भन्ने मानसिकतालाई चिर्दै गाउँलेले एकता र इच्छाशक्ति भए सीमित स्रोतबाट पनि परिवर्तन सम्भव छ भन्ने देखाएका छन्। जनप्रतिनिधिले बजेट विनियोजन गर्ने र नागरिकले आफ्नो ठाउँको विकासमा स्वामित्व लिने हो भने गाउँको मुहार फेर्न असम्भव छैन भन्ने सन्देश बेनीकोटबाट प्रवाह भएको छ।



















