प्रहार समाचार । काठमाडौं, १७ कात्तिक २०८३ सोमबार । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिँदै गएका जोखिम न्यूनीकरण, वातावरण संरक्षण र विपद् पूर्वसूचना प्रणाली विकासमा स्विटजरल्याण्डसँग सहकार्य गरेर अघि बढ्न नेपाल इच्छुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन् । जलवायु परिवर्तनको असर अब हिमाली क्षेत्रको मात्रै समस्या नरही नेपालको वातावरण, जनजीविका र समग्र विकाससँग जोडिएको चुनौती बन्दै गएको अवस्थामा अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।भेटमा राष्ट्रपति पौडेलले नेपालको शान्ति प्रक्रियामा स्विटजरल्याण्ड सरकारले पुर्याउँदै आएको निरन्तर सहयोगको प्रशंसा गर्दै लोकतन्त्र, संघीयतास्थानीय शासन तथा सामाजिक–आर्थिक विकासलाई सुदृढ बनाउन स्विटजरल्याण्डले लामो समयदेखि गरेको योगदान महत्त्वपूर्ण रहेको बताए ।

उनले स्विटजरल्याण्डका सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको पनि उल्लेख गरे ।त्यस अवसरमा स्विटजरल्याण्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले हिमालहरूमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै सम्भावित जोखिमबाट जनधनको क्षति रोक्न पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको बताए । यस क्षेत्रमा स्विटजरल्याण्डले काम गरिरहेको जानकारी दिँदै उनले नेपालसँग सहकार्य गरेर अगाडि बढ्न आफ्नो देश इच्छुक रहेको स्पष्ट पारे । राष्ट्रपति पौडेलका भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भेटबारे जानकारी दिएका हुन् ।
जलवायु परिवर्तनको चुनौती गम्भीर बन्दै जाँदा हिमाली क्षेत्रको संरक्षण, जोखिमको पूर्वानुमान र समयमै सूचना प्रवाह गर्ने प्रभावकारी संयन्त्र निर्माणमा नेपालले अन्तर्राष्ट्रिय सहयोगलाई ठोस उपलब्धिमा बदल्नुपर्ने आवश्यकता यो भेटले पुनः उजागर गरेको छ ।

















