आँबुखैरेनीहेडलाईनव्यासभानुसमाचारबन्दीपुरदेवघाटघिरिङगण्डकीऋषिङभिमादम्याग्देशुक्लागण्डकीस्वास्थ्य

स्वास्थ्य सेवाको गुणस्तरमा तनहुँको परीक्षा : थर्पु अस्पताल प्रथम, तीन स्वास्थ्य संस्थाको कार्यसम्पादन उत्कृष्ट

प्रहार समाचार । तनहुँ, १५ कात्तिक २०८३ आइतबार । स्वास्थ्य सेवाको वास्तविक अवस्था भवन, उपकरण र बजेटको आकारले मात्र होइन, नागरिकले पाउने सेवाको गुणस्तर र त्यसबाट प्राप्त नतिजाले निर्धारण गर्छ। यही वास्तविकता मापन गर्ने उद्देश्यसहित तनहुँमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन तथा सम्पादन गरिएका स्वास्थ्य कार्यक्रमहरूको जिल्लास्तरीय वार्षिक समीक्षा गरिएको छ।

समीक्षाबाट जिल्लाका स्वास्थ्य संस्थाहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्ट संस्था छनोट गरिएको छ भने स्थानीय तहका स्वास्थ्य सेवामा भएका उपलब्धि, कमजोरी, समस्या र चुनौतीसमेत सार्वजनिक बहसमा ल्याइएको छ।प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा सम्पन्न समीक्षामा १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि र आधारभूत अस्पतालहरूले आ–आफ्नो स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौती प्रस्तुत गरेका थिए। कार्यक्रमगत सूचकका आधारमा गरिएको १०० पूर्णाङ्कको मूल्याङ्कनमा म्याग्दे गाउँपालिकास्थित थर्पु आधारभूत अस्पताल ९३.०५७ प्रतिशत प्राप्त गर्दै जिल्लामै पहिलो भएको छ। त्यसैगरी शुक्लागण्डकी नगरपालिकाको खैरेनीटार स्वास्थ्य चौकी ८९.३३ प्रतिशतसहित दोस्रो र देवघाट गाउँपालिकाको छिपछिपे स्वास्थ्य चौकी ८७.३२ प्रतिशतसहित तेस्रो भएको छ।

तीन स्वास्थ्य संस्थाले उत्कृष्ट नतिजा हासिल गरे पनि जिल्लाको समग्र स्वास्थ्य सेवा कति प्रभावकारी छ, नागरिकले सहज रूपमा गुणस्तरीय सेवा पाइरहेका छन् कि छैनन् र स्वास्थ्य कार्यक्रमका उपलब्धि व्यवहारमा कति रूपान्तरण भएका छन् भन्ने प्रश्न भने उत्तिकै महत्वपूर्ण छन्। वार्षिक समीक्षा केवल अंक र प्रतिशत सार्वजनिक गर्ने औपचारिकतामा सीमित नभई कमजोर सूचक पहिचान, सेवा प्रवाहमा देखिएका अवरोध र सुधारका उपाय खोज्ने माध्यम बन्नुपर्ने देखिन्छ।

समीक्षामा स्वास्थ्य सेवालाई बहुआयामिक रूपमा हेर्ने प्रयाससमेत गरिएको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र प्रदेश आयुर्वेद चिकित्सालयबाट सम्बन्धित विषयमा प्रस्तुतीकरण गरिएको थियो। यसले जनस्वास्थ्यलाई अस्पताल र उपचार सेवामा मात्र सीमित नराखी खाद्य स्वच्छता, पशु स्वास्थ्य र आयुर्वेदिक सेवासँग जोडेर हेर्नुपर्ने आवश्यकतालाई समेत उजागर गरेको छ।
त्यसैगरी, समुदायमा लुकेर रहेका क्षयरोगका बिरामी पहिचान गर्न क्याडे एक्स–रे प्रविधिको प्रयोग गरी परीक्षण शिविर सञ्चालन गरेको भन्दै जन्त्रा (जेएएनटीआरए) संस्थाको योगदानको प्रशंसा गरिएको थियो। संस्थाका कार्यक्रम संयोजक प्रवेश तिमिल्सेनालाई प्रशंसा–पत्र प्रदान गरिएको हो। समुदायमा रोग पहिचानको पहुँच विस्तार गर्न यस्ता प्रविधि र साझेदारीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।

कार्यक्रमको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका कार्यालय प्रमुख तथा जनस्वास्थ्य प्रशासक अमर दवाडीले गरेका थिए। जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको उपस्थिति रहेको कार्यक्रममा प्रदेश आयुर्वेद चिकित्सालयका कार्यालय प्रमुख डा. बुद्धिप्रसाद पौडेल, प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.परिवर्तन बराल, कृषि विकास कार्यालयका प्रमुख परशुराम अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी ज्योति आचार्य तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. ऋषि सापकोटालगायत सहभागी थिए।

त्यसैगरी गण्डकी प्रदेश सरकार, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका जनस्वास्थ्य प्रशासक यामप्रसाद शर्मा, स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत कुसुमशिला भट्ट, प्रादेशिक स्वास्थ्य तालिम केन्द्रका प्रविण भण्डारी, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पोखरा फिल्ड अफिसकी एसएमओ डा. सस्मिता पोखरेल तथा जन्त्राका कार्यक्रम संयोजक प्रवेश तिमिल्सेनाको सहभागिता रहेको थियो।


अंकमा उत्कृष्टता मात्रै होइन, सेवामा परिणाम देखिनुपर्छ :
तनहुँको स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षाले उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थालाई सम्मान गर्नु सकारात्मक पक्ष हो। तर स्वास्थ्य सेवाको सफलता मूल्याङ्कन गर्दा प्रतिशत र पुरस्कारभन्दा बाहिर गएर नागरिकले पाएको सेवाको सहजता, गुणस्तर, पहुँच, निरन्तरता र स्वास्थ्य सूचकमा आएको वास्तविक सुधारलाई पनि केन्द्रमा राख्न आवश्यक छ।

विशेषगरी मातृ तथा नवजात शिशुको मृत्यु निगरानी, गर्भधारणपूर्व परामर्श, क्षयरोग पहिचान, खाद्य स्वच्छता र स्थानीय तहमा स्वास्थ्य सेवाको प्रभावकारिताजस्ता विषयलाई समीक्षा बैठकमा उठाएर मात्रै पुग्दैन। तिनबाट प्राप्त सुझाव कार्यान्वयनमा लैजाने, कमजोर देखिएका स्वास्थ्य संस्थालाई सुधारका लागि प्राविधिक सहयोग गर्ने र जिम्मेवार निकायलाई परिणामप्रति जवाफदेही बनाउने काम पनि उत्तिकै महत्वपूर्ण हुन्छ। वार्षिक समीक्षा कार्यक्रमले स्वास्थ्य क्षेत्रका सरोकारवालाबीच समन्वय र सहकार्यको आवश्यकता पनि औँल्याएको छ।

स्वास्थ्य कार्यक्रम सफल बनाउन सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, अस्पताल, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य आमा समूह, विकास साझेदार तथा सम्बन्धित सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहने निष्कर्षसहित आयोजकले सबैप्रति आभार व्यक्त गरेको छ। तर अबको चुनौती सम्मानित स्वास्थ्य संस्थाको सूची सार्वजनिक गर्नु मात्र होइन, जिल्लाका सबै स्वास्थ्य संस्थामा सेवाको गुणस्तर समान रूपमा सुधार गर्नु हो। उत्कृष्ट संस्थाको अभ्यास अन्य स्वास्थ्य संस्थामा विस्तार गर्दै कमजोरी देखिएका क्षेत्रमा सुधारको ठोस कार्ययोजना बनाउनु नै यस्तो वार्षिक समीक्षाको वास्तविक उपलब्धि हुनेछ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button