प्रहार समाचार । तनहुँ, १४ कात्तिक २०८३ शनिबार । वार्षिक ५३ हजार ८ सय १३ लिटर दूध बिक्री गरी २७ लाख ७८ हजार ९ सय ९१ रुपैयाँको कारोबार गर्न सफल दुम्सी दुग्ध उत्पादक सहकारी संस्थाका किसान पुष्पराज मिश्र तनहुँकै उत्कृष्ट दुग्ध उत्पादक किसान घोषित भएका छन्।

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड, दमौलीको ३१औँ वार्षिक साधारण सभाका अवसरमा मिश्रलाई पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो। दूध उत्पादनमार्फत ग्रामीण अर्थतन्त्रमा योगदान पुर्याउने किसान, सहकारी संस्था, निजी फर्म तथा कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले सङ्घले विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको हो। साधारण सभाका अवसरमा मिश्रसहित जिल्लाका उत्कृष्ट दुग्ध उत्पादक किसान, बढी दूध सङ्कलन गर्ने सहकारी, गुणस्तरीय दूध उत्पादन गर्ने संस्था तथा उत्कृष्ट कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, सङ्घका केन्द्रीय अध्यक्ष अम्मरबहादुर कुँवर, जिल्ला अध्यक्ष तुलसीराम सापकोटा र व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले संयुक्त रूपमा सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए। किसानतर्फ दोस्रो स्थान हासिल गरेका म्याग्दे दुग्ध उत्पादक सहकारीका विप्रज्योति खनालले वार्षिक २८ हजार २ सय ३१ लिटर दूध बिक्री गरी १८ लाख २२ हजार १७ रुपैयाँको कारोबार गरेका छन्। उनलाई चार हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।
त्यस्तै, चिन्तुटार दुग्ध उत्पादक सहकारीका खडानन्द आचार्य तेस्रो भएका छन्। उनले २६ हजार ८ सय ७५ लिटर दूध बिक्री गरी १६ लाख ७३ हजार ४ सयको कारोबार गरेका छन्। उनलाई तीन हजार रुपैयाँ प्रदान गरिएको छ। सान्त्वना पुरस्कारतर्फ ईश्वर कार्की, दीपेन्द्र अधिकारी, चोलबहादुर गौली, सीतादेवी घिमिरे, पूर्णचन्द्र अधिकारी, विष्णुप्रसाद बराल, पवित्रा भण्डारी, लक्ष्मी पाण्डे, दुर्गा तिवारी, हरिकृष्ण अधिकारी र बामदेव भट्टराईलाई जनही एक हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।संस्थागततर्फ बढी दूध सङ्कलन गर्ने सहकारीमा दुम्सी दुग्ध उत्पादक सहकारी संस्था प्रथम भएको छ। उक्त संस्थाले वार्षिक १२ लाख १३ हजार ३३० लिटर दूध सङ्कलन गरी आठ करोड ५३ लाख चार हजार ३९७ रुपैयाँको कारोबार गरेको छ।

संस्थालाई सात हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ। त्यसैगरी, गुणस्तरीय दूध उत्पादनतर्फ म्याग्दे दुग्ध उत्पादक सहकारी संस्था प्रथम भएको छ। उक्त संस्थाले वार्षिक तीन लाख २६ हजार ५८६ लिटर दूध सङ्कलन गरी दुई करोड ३९ लाख १९ हजार ८४० रुपैयाँको कारोबार गरेको छ। संस्थाले पनि सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।दाना बढी खपत गर्ने विधामा चारकुने दुग्ध उत्पादक सहकारी संस्था र डिल्लीराम एण्ड गोमा किराना पसललाई जनही पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको छ। त्यसैगरी, कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट कर्मचारीका रूपमा मेखबहादुर गुरुङ, समुन्द्र ढकाल र विष्णु दमैलाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको सङ्घका व्यवस्थापक राजु भुजेलले जानकारी दिए।

कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले दुग्ध उत्पादनले ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे। उनले किसानले उत्पादन गरेको दूधको उचित बजार व्यवस्थापन, न्यायोचित मूल्य निर्धारण र समयमै भुक्तानीको व्यवस्था हुनुपर्नेमा जोड दिए।दूध उत्पादन र कारोबारका यी तथ्याङ्कले तनहुँमा पशुपालन तथा दुग्ध व्यवसायको आर्थिक सम्भावना देखाए पनि किसानले उत्पादन गरेको दूधको बजार, मूल्य र भुक्तानी सुनिश्चित गर्नु उत्तिकै आवश्यक देखिएको छ। किसानलाई पुरस्कार र सम्मानले मात्र दुग्ध क्षेत्रको दिगो विकास सम्भव हुँदैन; उत्पादनको लागतअनुसार उचित मूल्य, नियमित बजार र सहज भुक्तानीको सुनिश्चितता हुनु जरुरी छ।

















