तनहुँ । तनहुँका प्राडा ईश्वरचन्द्र वाग्लेले गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा परिषद् सदस्य तथा भाषा र साहित्य विभाग प्रमुख मा नियुक्त भएक छन्।

भाषा र साहित्यको संरक्षण, संवर्द्धन र विकासको जिम्मेवारी बोकेको प्रतिष्ठानमा वाग्लेको आगमनले गण्डकीको साहित्यिक क्षेत्रलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ। वाग्लेले आज गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा पदस्थापन गर्दै नयाँ जिम्मेवारी सम्हालेका हुन्। भाषा र साहित्य केवल शब्दको संयोजन मात्र होइनन्, समाजको चेतना, सभ्यताको पहिचान र पुस्तौँपुस्ताको सांस्कृतिक विरासत पनि हुन्। यस्तो महत्त्वपूर्ण क्षेत्रको नेतृत्वमा पुगेका वाग्लेका सामु अब साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, भाषिक विविधताको संरक्षण गर्ने र ओझेलमा परेका प्रतिभालाई पहिचान दिने चुनौती र अवसर दुवै छन्।

प्रतिष्ठानको जिम्मेवारी पद र प्रतिष्ठामा सीमित नभई भाषा, साहित्य र संस्कृतिको वास्तविक उन्नयनमा देखिनुपर्ने अपेक्षा छ। साहित्यिक गतिविधि औपचारिक कार्यक्रम र कागजी उपलब्धिमा मात्र सीमित नराखी स्रष्टाको सम्मान, नयाँ पुस्तामा पठन संस्कृतिको विकास र स्थानीय साहित्यिक सम्पदाको संरक्षणमा परिणाममुखी काम गर्नुपर्ने आवश्यकता छ। प्राडा वाग्लेको कार्यकालले गण्डकीको भाषा र साहित्यलाई कति उचाइ दिन्छ भन्ने कुरा अब उनका योजना, सक्रियता र उपलब्धिले निर्धारण गर्नेछ ।

















