प्रहार समाचार । स्याङ्जा, ९ कात्तिक २०८३ सोमबार । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको प्रारम्भिक प्रक्रिया पुस–माघभित्रै टुंग्याउने घोषणा गरेका छन् ।

निर्वाचनको मुखमा टिकट बाँड्ने, खोस्ने र शक्ति केन्द्रको पहुँचका आधारमा उम्मेदवार तय गर्ने पुरानो प्रवृत्ति अन्त्य गर्ने सन्देश दिँदै थापाले मंसिरलाई जागरण तथा संगठन सुदृढीकरण र पुस–माघलाई चुनाव केन्द्रित गतिविधिको समय बनाउने बताएका हुन् । स्याङ्जाको पुतलीबजारमा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनले उम्मेदवार छनोट प्रक्रियालाई समयमै व्यवस्थित गर्ने योजना सार्वजनिक गरे । थापाका अनुसार तल्लो तहका कार्यकर्ताको डिजिटल मतदानबाट उम्मेदवारको प्रारम्भिक सूची तयार गरिनेछ र त्यसपछि विभिन्न तहको प्रक्रियाबाट अन्तिम उम्मेदवार टुंगो लगाइनेछ ।
विगतमा निर्वाचनको दुई–पाँच दिनअघि मात्रै होइन, मतदानको केही घण्टाअघिसम्म टिकट लिने र बाँड्ने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले यसपटक त्यस्तो अवस्था दोहोरिन नदिने बताए । उम्मेदवार छनोटको प्रारम्भिक काम पुस–माघमै सक्ने र अन्तिम निर्णय पनि निर्वाचनभन्दा दुई–तीन महिनाअघि टुंग्याउने उनको भनाइ छ । सभापति थापाले १२ गते शपथपछि बस्ने केन्द्रीय समिति बैठकले पार्टीको आगामी कार्ययोजना तय गर्ने जानकारी दिँदै नेता–कार्यकर्तालाई अहिलेदेखि नै जनतासँगको सम्बन्ध विस्तारमा जुट्न निर्देशन दिएका छन् ।
थापाले कांग्रेसले गुमाएको मतभन्दा जनताको विश्वास गुमाउनु मुख्य चुनौती भएको स्वीकार गर्दै विश्वास पुनःस्थापित गर्न संगठनका प्रत्येक सदस्यले मेहनत गर्नुपर्ने बताएका छन् । उनका अनुसार लोकतान्त्रिक मूल्य–मान्यता, व्यक्तिगत स्वतन्त्रता र शान्ति प्रक्रियाप्रतिको प्रतिबद्धता जनतासँगको सम्बन्ध बलियो बनाउने आधार हुन् । तर, अब कांग्रेसका लागि भाषण र घोषणाले मात्र पुग्ने छैन; टिकट वितरणमा पारदर्शिता, कार्यकर्ताको वास्तविक सहभागिता र जनताप्रतिको जवाफदेहिताबाटै नयाँ प्रतिबद्धताको परीक्षण हुनेछ । पुस–माघमै उम्मेदवार छनोट गर्ने घोषणा कार्यान्वयन हुन्छ कि हुँदैन र डिजिटल मतदानले तल्लो तहको आवाजलाई कति स्थान दिन्छ भन्ने प्रश्नले थापाको नयाँ रणनीतिको वास्तविक परीक्षा गर्नेछ ।
























