प्रहार समाचार । तनहुँ, ९ कात्तिक २०८३ सोमबार । तनहुँको व्यास नगरपालिकामा प्रथम मेयर कप ११ ए साइड अन्तर वडा फुटबल प्रतियोगिता हुने भएको छ।

व्यास नगर खेलकुद विकास समितिको आयोजनामा आगामी कात्तिक १३ देखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नगरपालिकाका सम्पूर्ण वडालाई सहभागी हुन आह्वान गरिएको छ। व्यास नगरपालिका–३ स्थित बीपी वन बाटिका खेलकुद मैदानमा बिहान ८ बजेदेखि सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमले ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाउनेछ।प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट डिफेन्डरलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रत्येक वडाबाट सहभागी हुने टिमका खेलाडी एउटै वडाभित्रका हुनुपर्नेछ।

खेलाडीको जर्सी र नम्बर अनिवार्य गरिएको छ भने सम्बन्धित वडाले खेलाडीको खाना तथा बसोबासको व्यवस्था गर्नुपर्नेछ। टिम दर्ताका लागि सम्बन्धित वडाको सिफारिसपत्र, खेलाडीको जन्मदर्ता वा नागरिकता अथवा स्थायी ठेगाना खुल्ने फोटोसहितको कागजात र टिम दर्ता फारम पेस गर्नुपर्नेछ। टिम दर्ताको अन्तिम म्याद कात्तिक १२ गते दिउँसो ३ बजेसम्म तोकिएको छ। प्रतियोगिता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमअनुसार सञ्चालन गरिनेछ। खेल अवधिभर रेफ्रीको निर्णय र अनुशासन पालना गर्नुपर्ने आयोजकले जनाएको छ।
नियम उल्लङ्घनमा रातो कार्डका लागि ५०० रुपैयाँ, पहेँलो कार्डका लागि २०० रुपैयाँ र प्रोटेस्टका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। खेलकुद विकास समितिका सदस्य–सचिव केदारराज आचार्यले प्रतियोगितासम्बन्धी सूचना जारी गर्दै नगरका सबै वडालाई टिमसहित सहभागी हुन अनुरोध गरेका छन्। थप जानकारीका लागि खेलकुद समिति संयोजक जीवन गुरुङलाई ९९८५६०६०२९ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
























