हेडलाईनसमाचारगण्डकी

जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार कैदी लमजुङमा पक्राउ

• विजय अधिकारी (संवाददाता) प्रहार समाचार ५ असोज २०८३ बिहीबार । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले लमजुङबाट पक्राउ गरेको छ।

लमजुङको राइनास नगरपालिका–९ स्थायी ठेगाना भएका अमृत बहादुर अधिकारीलाई बुधबार बिहान ९ः३० बजे बेँसीसहर नगरपालिका–२, भकुण्डे क्षेत्रमा हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक नेत्रबहादुर थापाले जानकारी दिए। लमजुङ जिल्ला अदालतले जबर्जस्ती करणी उद्योगसम्बन्धी मुद्दामा अधिकारीलाई पाँच वर्ष छ महिना कैद र तीन लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाअनुसार कैद भुक्तान गरिरहेका अधिकारी गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट फरार भएका थिए।

आन्दोलनको मौका छोपेर कारागारबाट भागेका अधिकारीलाई प्रहरीले खोजतलासका क्रममा फेला पारेको हो।फरार कैदीको खोजीलाई निरन्तरता दिएको प्रहरीले अधिकारीलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पक्राउ परेका अधिकारीलाई बाँकी कैद भुक्तानका लागि पुनः कास्की कारागार पठाइएको छ। अदालतको फैसला कार्यान्वयनबाट उम्किएका कैदीलाई पक्राउ गरी कारागार फर्काइएसँगै फरार कैदीको खोजीमा प्रहरी सक्रिय रहेको देखिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button