प्रहार समाचार । काठमाडौं, ४ कात्तिक २०८३ बुधबार । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक विजयादशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ।

बडादसैँको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गर्दै नेपालीहरू सुख, शान्ति, समृद्धि र दीर्घायुको आशीर्वाद लिइरहेका छन्। टीका लगाउन साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान १०ः२६ बजेलाई उत्तम साइत तोकेको छ।धार्मिक मान्यताअनुसार विजयादशमी केवल टीका र जमरा लगाउने पर्व होइन, सत्य, साहस र धर्मको विजयको सन्देश बोकेको सांस्कृतिक उत्सव हो। त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको विश्वाससँग जोडिएको यस पर्वमा गुरु, पुरोहित, अभिभावक तथा मान्यजनबाट आशीर्वाद लिने परम्परा छ।

राज्य सञ्चालकले भने शुभ साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता रहेको समितिले जनाएको छ।आज टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्नेछन्। तर पर्वको वास्तविक मर्म रातो टीका र पहेँलो जमरामा मात्र सीमित छैन; सत्यको पक्षमा उभिने, असत्यमाथि विजय हासिल गर्ने र पारिवारिक तथा सामाजिक सद्भाव कायम राख्ने संकल्पमा यसको सार निहित छ। आस्था र परम्पराको उत्सवलाई व्यवहारमा धर्म, नैतिकता र सद्भावको विजय बनाउनु नै विजयादशमीको मूल सन्देश हो।
























