• विजय अधिकारी ( प्रहार समाचार) लमजुङ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट लमजुङका पूर्व जिल्ला सभापति एवं सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइराला खसआर्यतर्फबाट १ हजार ९०२ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

यससँगै लमजुङ कांग्रेसको इतिहासमा पहिलोपटक केन्द्रीय सदस्य निर्वाचित भएको उपलब्धि जोडिएको छ।२०३८ सालदेखि विद्यार्थी राजनीतिमार्फत कांग्रेसमा सक्रिय कोइरालाले जिल्ला सचिवदेखि ११ वर्ष जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्। विभिन्न राजनीतिक आन्दोलनमा जेल जीवन बिताएका उनी २०६२/०६३ को जनआन्दोलनमा गोली लागेर घाइतेसमेत भएका थिए। लामो राजनीतिक संघर्ष र संगठनात्मक अनुभवपछि उनको केन्द्रीय यात्रालाई लमजुङ कांग्रेसका कार्यकर्ताले उपलब्धिका रूपमा लिएका छन्।

निर्वाचित कोइरालाले पार्टी संगठनलाई प्रभावकारी बनाउने, सक्रिय नेता–कार्यकर्ताको सम्मान र हकहितका लागि काम गर्ने तथा लमजुङको राजनीतिक प्रतिनिधित्व केन्द्रीय तहमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। अब उनको वास्तविक परीक्षा निर्वाचनको जितलाई संगठन सुदृढीकरण, कार्यकर्ताको अपेक्षा सम्बोधन र जिल्लाका मुद्दालाई केन्द्रीय तहमा स्थापित गर्ने परिणाममा बदल्नु हुनेछ।


















