प्रहार समाचार । तनहुँ, १२ मंसिर २०८३ शनिबार । तनहुँको ऋषिङ गाउँपालिकाको झापुटार खेलमैदान यतिबेला भविष्यका खेलाडीहरूको उत्साह, ऊर्जा र प्रतिस्पर्धाले तातेको छ। आठौँ गाउँपालिकास्तरीय अन्तर माध्यमिक विद्यालय अध्यक्ष कप एवम् राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ सुरु भएसँगै खेलमैदान विद्यार्थी खेलाडीले भरिएको हो।

मंसिर १० गतेदेखि सुरु भएको प्रतियोगितामा ११ विद्यालयका ४५० भन्दा बढी छात्रछात्राले विभिन्न खेल विधामा आफ्नो खेलकौशल प्रदर्शन गरिरहेका छन्।विद्यार्थीभित्र लुकेर रहेका खेल प्रतिभा पहिचान गर्ने र उनीहरूलाई प्रतिस्पर्धामार्फत राष्ट्रियस्तरको खेलाडी बन्न प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए। उनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिको रुचि, अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्छन्।

प्रतियोगिताअन्तर्गत एथलेटिक्सका विभिन्न विधामा छात्रछात्राबीच प्रतिस्पर्धा भइरहेको छ। हाइजम्प, लङजम्प, त्रिपलजम्प, १००, २००, ४०० र ८०० मिटर दौड, १६०० मिटर रिले दौड, सटफुट तथा ज्याभलिन थ्रोमा खेलाडीहरूले आफ्नो क्षमता देखाएका छन्। भलिवल तर्फ छात्र छात्राहरुको विचमा प्रतिस्पर्धा भइरहेको छ ।

मैदानमा पदक र उपाधिका लागि भइरहेको प्रतिस्पर्धाले विद्यार्थी खेलाडीमा थप उत्साह र जोस भरिएको छ।

विद्यालयस्तरबाटै खेल प्रतिभा उत्पादन र पहिचान गर्ने लक्ष्यसहित सञ्चालित प्रतियोगिता आज समापन हुँदैछ।

प्रतियोगिताले ऋषिङका विद्यालयमा खेलकुद संस्कृतिको विकास गर्नुका साथै भविष्यमा जिल्लादेखि राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनको आधार तयार गर्ने अपेक्षा गरिएको प्रतियोगिताका कार्यक्रम सहजकर्ता सुवासचन्द्र रानाभाटले जानकारी दिए।











