प्रहार समाचार । तनहुँ, ९ मंसिर २०८३ बुधबार । तनहुँमा अवैध रूपमा प्राकृतिक स्रोतसाधनको दोहन तथा ओसारपसार गर्ने क्रम रोकिएको छैन। प्रहरीले अवैध रूपमा ग्राभेल ओसारपसारमा संलग्न दुई टिपर नियन्त्रणमा लिए पनि सामान्य जरिवाना गरेर छाडिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मंसिर १ गते इलाका प्रहरी कार्यालय भीमादबाट खटिएको प्रहरी टोलीले भीमाद नगरपालिका–६ मा चेकजाँच गर्ने क्रममा अवैध रूपमा ग्राभेल ओसारिरहेको अवस्थामा दुई टिपर नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएका दुवै टिपरलाई आवश्यक कारबाहीका लागि भीमाद नगरपालिकाको कार्यालय पठाएको थियो। नगरपालिकाले प्रतिटिपर २० हजार रुपैयाँका दरले कुल ४० हजार रुपैयाँ जरिवाना गराई सवारीसाधन छाडेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन तथा ओसारपसारले वातावरणीय सन्तुलन, नदीजन्य स्रोत र सार्वजनिक सम्पत्तिमा प्रत्यक्ष असर पार्ने भए पनि यस्ता गतिविधिमा संलग्नलाई जरिवाना गरेर मात्रै छाड्दा अवैध कारोबार निरुत्साहित हुनेमा प्रश्न उठेको छ। अवैध उत्खनन र ओसारपसारको जालो तोड्न सामान्य जरिवानामा सीमित नभई स्रोतको वैधानिकता, संलग्न पक्ष र कारोबारको गहिराइसम्म पुगेर प्रभावकारी कारबाही गर्नुपर्ने देखिन्छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले मंसिर ९ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी उल्लेख छ।











