प्रहार समाचार । काठमाडौं,७ मंसिर २०८३ सोमबार । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले यसअघिका नेपाली प्रधानमन्त्रीहरूले अपनाउँदै आएको उपहार दिने परम्परालाई तोड्दै नेपालको मौलिक इतिहास, सभ्यता र सांस्कृतिक पहिचान झल्काउने फरक उपहार रोजेका छन्।

विगतमा भारत भ्रमण गर्ने नेपाली प्रधानमन्त्रीहरूले पशुपतिनाथ मन्दिरको प्रतिकृति उपहार दिने परम्परा दोहोर्याउँदै आएका थिए। तर प्रधानमन्त्री बालेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रातो मच्छिन्द्रनाथको मूर्ति र राष्ट्रपति द्रौपदी मुर्मूलाई काठमाडौंको चाबहिलस्थित चारुमती विहारसँग सम्बन्धित मूर्ति दिने तयारी गरेका छन्। यो छनोट केवल औपचारिक उपहारमा सीमित नभई नेपालको इतिहास र सांस्कृतिक पहिचानलाई कूटनीतिक मञ्चमा प्रस्तुत गर्ने फरक सन्देशका रूपमा हेरिएको छ।प्रधानमन्त्री बालेनको उपहार छनोटले विगतको परम्पराभन्दा फरक राजनीतिक तथा सांस्कृतिक सन्देश दिएको छ।

रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पुजिन्छ। किंवदन्तीअनुसार लिच्छवि राजा नरेन्द्रदेवले भारतको कामरूप क्षेत्रबाट उनलाई काठमाडौं उपत्यकामा ल्याएका थिए। त्यस्तै, चारुमती विहारको इतिहास मौर्य सम्राट अशोककी छोरी चारुमतीसँग जोडिएको छ। जनविश्वासअनुसार चारुमतीले देवपाटन क्षेत्रमा विहार निर्माण गराएकी थिइन्। एउटै धार्मिक प्रतीकमा सीमित नभई नेपालको बौद्ध तथा हिन्दू सभ्यताको ऐतिहासिक सम्बन्धलाई दुई फरक उपहारमार्फत प्रस्तुत गर्ने बालेनको निर्णयले परम्परागत कूटनीतिक शैलीमा नयाँपन थपेको छ।दुईदिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुर्मूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार यी उपहारले नेपाल–भारतबीचको सदियौँ पुरानो धार्मिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धलाई प्रतिबिम्बित गर्नेछन्। विगतमा एउटै प्रतीकात्मक उपहारको परम्परा दोहोरिँदै आएको अवस्थामा बालेनले नेपालको विविध इतिहास, कला र सभ्यतालाई प्राथमिकता दिनुले कूटनीतिक प्रस्तुति बदल्ने संकेत गरेको छ। छ











