प्रहार समाचार । तनहुँ, ४ मंसिर २०८३ शुक्रबार । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिकाप्रसाद घिमिरे गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले उनलाई २०८३ साल कार्तिक महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।प्रहरी संगठनको नीति निर्देशनअनुसार प्राप्त जिम्मेवारीलाई इमानदार, बफादार र कर्तव्यनिष्ठ भएर उच्च व्यावसायिक दक्षताका साथ निर्वाह गरेको भन्दै घिमिरेलाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
उनको नेतृत्वमा कार्तिक महिनामा विभिन्न अपराधमा संलग्न तथा फरार रहेका २७ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो । घिमिरेको नेतृत्वमा कर्तव्य ज्यान कसुरमा संलग्न एक जना, विभिन्न मुद्दामा फरार रहेका १३ जना, अवैध जुवातासमा संलग्न सात जना र अवैध लागुऔषधसहित छ जना पक्राउ परेका थिए । अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा गैरकानुनी गतिविधिविरुद्धको कारबाहीमा देखाएको सक्रियता र नेतृत्वदायी भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रदेश प्रहरीले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव महानिरीक्षक दीपेन्द्र घर्ती क्षेत्रीले मङ्सिर ४ गते जारी गरेको प्रमाणपत्रमार्फत घिमिरेलाई सम्मान गरिएको हो । एक महिनामै विभिन्न अपराधमा संलग्न २७ जनालाई कानुनी दायरामा ल्याउन सफल घिमिरेको कार्यसम्पादनले प्रहरी संगठनभित्र जिम्मेवारी, व्यावसायिकता र परिणाममुखी कार्यशैलीको महत्त्वलाई पुनः उजागर गरेको छ ।












