शिक्षाहेडलाईनसमाचारगण्डकी

लमजुङका विद्यार्थीको पढाइमा जापानको साथ, १० वर्षदेखि निरन्तर छात्रवृत्ति

• विजय अधिकारी (संवाददाता) लमजुङ, ३ मंसिर २०८३ बिहीबार । लमजुङका १० विद्यालयका २० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। सर्वोदय सेवाश्रम धर्मनाथ धामको समन्वय तथा नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनको सहयोगमा सञ्चालित ‘माया ममताका साथ शिक्षा’ कार्यक्रममार्फत विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराइएको हो।


आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस् र विपन्न परिवारका बालबालिकाले पनि सहज रूपमा पढाइलाई निरन्तरता दिन सकून् भन्ने उद्देश्यसहित राइनास नगरपालिकाभित्रका नौवटा माध्यमिक विद्यालय तथा सुन्दरबजार नगरपालिका–७, पाउँदीस्थित मर्स्याङ्दी आधारभूत विद्यालयका विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित भएका छन्। सर्वोदय सेवाश्रममा विद्यार्थी तथा अभिभावकको उपस्थितिमा आयोजित कार्यक्रममा फाउन्डेसनका संस्थापकद्वय परमेश्वर कार्की र तोमोतो यामातो (चमेली) ले छात्रवृत्ति वितरण गरेका हुन्। कार्यक्रमअन्तर्गत विद्यालयले छनोट गरेका प्रत्येक विद्यार्थीलाई वार्षिक पाँच हजार रुपैयाँ प्रदान गरिँदै आएको छ।


सामान्य देखिने पाँच हजार रुपैयाँले विपन्न परिवारका विद्यार्थीका लागि कापी, कलम, पाठ्यसामग्री र विद्यालय पोसाक जुटाउन महत्वपूर्ण राहत पुर्‍याउने अपेक्षा गरिएको छ। आर्थिक अभावकै कारण बालबालिकाको पढाइ प्रभावित हुने अवस्थालाई कम गर्दै उनीहरूमा अध्ययनप्रति उत्साह र आत्मविश्वास बढाउनु कार्यक्रमको मुख्य उद्देश्य हो। दानभन्दा पनि शिक्षामा पहुँच र अवसर विस्तार गर्ने उद्देश्यसहित सञ्चालित यो कार्यक्रमले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको शैक्षिक यात्रामा निरन्तर साथ दिँदै आएको छ।


नेपाल जापान नेचर एण्ड पिस फाउन्डेसनले सन् २०१५ अर्थात् २०७२ सालमा राइनासकोट गाउँ पुनर्निर्माणबाट लमजुङमा सहयोगको यात्रा सुरु गरेको थियो। त्यसयता सर्वोदय सेवाश्रमसँगको समन्वयमा शिक्षा, सामाजिक सेवा तथा अन्य क्षेत्रमा सहयोग गर्दै आएको छ। विगत एक दशकदेखि निरन्तर सञ्चालनमा रहेको ‘माया ममताका साथ शिक्षा’ छात्रवृत्ति कार्यक्रमले आर्थिक सहयोगसँगै विपन्न बालबालिकाको शिक्षाप्रतिको आशा र सम्भावनालाई जीवित राख्ने काम गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button