प्रहार समाचार । आँबुखैरेनी, २ मंसिर २०८३ बुधबार । सरकारी अस्पताल भन्नासाथ सामान्य उपचारका लागि पनि ठूला सहर धाउनुपर्ने बाध्यता सम्झिने नागरिकका लागि तनहुँको आँबुखैरेनी अस्पताल अपवाद बन्दै गएको छ। सञ्चालनमा आएको चार वर्षमै अस्पतालले डायलाइसिसदेखि शल्यक्रियासम्मका सेवा स्थानीय तहमै उपलब्ध गराएर स्वास्थ्य सेवामा उल्लेखनीय फड्को मारेको छ।

आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित अस्पताल छोटो समयमै नमुना स्वास्थ्य संस्थाका रूपमा स्थापित हुँदै गएको हो। अस्पतालले अहिले आकस्मिक, बहिरङ्ग (ओपीडी), वार्ड, दन्त उपचार, डायलाइसिस, शल्यक्रिया, प्रयोगशाला, फिजियोथेरापी, भिडियो एक्स–रे, फार्मेसी तथा रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ। कुनै समय सामान्य उपचारका लागि समेत दमौली, पोखरा वा अन्यत्र धाउनुपर्ने स्थानीय नागरिकले अहिले आफ्नै ठाउँमा विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा पाउन थालेका छन्। स्थानीय तहको लगानी, व्यवस्थापन र प्राथमिकताले चाहे स्वास्थ्य क्षेत्रमा छोटो समयमै परिणाम देखाउन सकिन्छ भन्ने उदाहरण अस्पतालले प्रस्तुत गरेको छ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए। उनका अनुसार चार वर्षकै अवधिमा डायलाइसिस र शल्यक्रियाजस्ता सेवा सञ्चालनमा ल्याउनु महत्वपूर्ण उपलब्धि हो। अस्पताललाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउँदै आगामी दिनमा विशेषज्ञ सेवा विस्तार गर्ने गाउँपालिकाको योजना छ।
तर सेवा विस्तारसँगै त्यसको गुणस्तर, दक्ष जनशक्तिको निरन्तरता, आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने चुनौती छ। सेवा सुरु गर्नु मात्र पर्याप्त हुँदैन, नागरिकले नियमित, भरपर्दो र गुणस्तरीय उपचार पाउने वातावरण सुनिश्चित गर्नु वास्तविक सफलता हो। आँबुखैरेनी अस्पतालले चार वर्षमा देखाएको प्रगतिलाई दिगो बनाउँदै थप सेवासुविधा विस्तार गर्न सके स्थानीय स्वास्थ्य सेवामा उदाहरणीय उपलब्धि बन्न सक्नेछ।










