प्रहार समाचार । तनहुँ, २ मंसिर २०८३ बुधबार । आगलागी भएको खबर पाएपछि दमकल र जनशक्ति परिचालन हुन ढिलाइ नहोस् भन्ने उद्देश्यले व्यास नगरपालिकाले कार्यालयको मुख्य गेटमा साइरन जडान गरेको छ। तस्बिर: प्रहार अनलाइन मिडिया

कार्यालयमा कार्यरत कर्मचारी अन्य काममा व्यस्त रहेको अवस्थामा समेत आगलागीको सूचना तत्काल सबैसम्म पुर्याउन साइरन जडान गरिएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ नगरपालिकाका सुरक्षा गार्डले साइरन बजाउने व्यवस्था मिलाइएको छ।

साइरन बज्नासाथ चालक, फायरम्यानलगायत अग्नि नियन्त्रणमा खटिने कर्मचारी तत्काल दमकल रहेको स्थानमा पुगेर परिचालन हुनेछन्। नगरपालिकाको यो व्यवस्था कर्मचारीलाई मात्र लक्षित छैन। साइरनको आवाज नगर क्षेत्रका बासिन्दाले समेत सुन्ने भएकाले आगलागी भएको अवस्थाबारे सर्वसाधारणलाई पनि तत्काल जानकारी हुनेछ। यसले आगलागी भएको स्थानमा दमकल तथा अग्नि नियन्त्रण टोली छिटो पुर्याउन र सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

व्यास नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र हड्खलेले आगलागीको सूचना प्राप्त भएपछि जनशक्ति तत्काल परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले साइरन जडान गरिएको जानकारी दिए। आगलागी नियन्त्रणमा केही मिनेटको ढिलाइले पनि ठूलो जनधनको क्षति निम्त्याउन सक्छ। त्यसैले विपद् व्यवस्थापनमा सूचना प्राप्त गर्ने, जनशक्ति परिचालन गर्ने र घटनास्थल पुग्ने समय घटाउनु पहिलो आवश्यकता हो।

व्यास नगरपालिकाको साइरन जडान सकारात्मक पहल भए पनि यसको प्रभावकारिता नियमित परीक्षण, कर्मचारीको तत्परता र दमकलको तयारीमा निर्भर रहनेछ। साइरन बजाउने व्यवस्था गरेर मात्रै जिम्मेवारी पूरा हुँदैन, विपद्का बेला तत्काल परिचालन हुने संयन्त्रलाई सधैँ चुस्त राख्न सके मात्र यो व्यवस्था नागरिकको सुरक्षामा वास्तविक रूपमा उपयोगी बन्न सक्छ। विगतमा नगर भित्र भएका आगजनिका घटनामा नगरपालिकाको दमकल ढिला पुगेको जन गुनासो थियो । आ






















