हेडलाईनसमाचारगण्डकी

जिम्मेवारी र अनुशासनमा अब्बल अधिकारी बने लमजुङका ‘सोल्जर अफ द मन्थ’

• विजय अधिकारी (संवाददाता) लमजुङ, १ मंसिर २०८३ मंगलबार । जिम्मेवारीप्रतिको निष्ठा, अनुशासन र इमानदारीलाई कार्यक्षमतामा उतारेका सशस्त्र प्रहरी सहायक हवल्दार चन्द्रबहादुर अधिकारी लमजुङमा २०८३ साल कार्तिक महिनाको ‘सोल्जर अफ द मन्थ’ घोषित भएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेडक्वार्टर लमजुङमा कार्यरत अधिकारीले पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै उत्कृष्ट कार्यसम्पादन गरेपछि उनलाई महिनाकै सर्वोत्कृष्ट जवानका रूपमा छनोट गरिएको हो। बेँसीसहर नगरपालिका–९, दिहीथोकका अधिकारीको कार्यसम्पादनले संगठनभित्र जिम्मेवारीप्रतिको समर्पण र व्यावसायिक अनुशासनको उदाहरण प्रस्तुत गरेको छ। गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीका अनुसार अधिकारीले गोपनीयता कायम राख्दै लगनशीलता, अनुशासन र इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्नुका साथै गुल्मको छवि उच्च राख्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

उनको यही कार्यशैली र योगदानको मूल्याङ्कन गर्दै कार्तिक महिनाको उत्कृष्ट जवानका रूपमा सम्मान गरिएको हो। उत्कृष्ट काम गर्ने सुरक्षाकर्मीको पहिचान र प्रोत्साहनले संगठनभित्र जिम्मेवारीप्रतिको जवाफदेहिता तथा कार्यसम्पादनमा सकारात्मक प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद १७, नियम १५७ को खण्ड (ग) बमोजिम अभिलेख किताबमा जनिने गरी अधिकारीलाई नगद पाँच सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको छ। गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीद्वारा हस्ताक्षरित प्रशंसापत्रमा उनको उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको कामना गरिएको छ। पुरस्कारको रकमभन्दा ठूलो उनको निरन्तरको कर्तव्यनिष्ठा र संगठनप्रतिको योगदानको मूल्याङ्कन हो, जसले लमजुङको दिहीथोकदेखि सशस्त्र प्रहरी संगठनसम्म अधिकारीको पहिचान स्थापित गरेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button