हेडलाईनकोशीसमाचार

डीडीसीलाई १२ करोडभन्दा बढी नोक्सानी पुऱ्याएको आरोपमा विराटनगर आयोजनाका प्रमुख शर्मा पक्राउ

प्रहार समाचार । काठमाडौँ, २८ कात्तिक २०८३ शनिबार । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुर्‍याएको आरोपमा संस्थानकै विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मा पक्राउ परेका छन्।

संस्थानभित्रैका उच्च अधिकारी र कर्मचारीको मिलेमतोमा गैरकानुनी आर्थिक लाभ लिँदै सरकारी सम्पत्तिमा ठूलो क्षति पुर्‍याइएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शर्मालाई पक्राउ गरेको हो।काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर ब्युरोले ४५ वर्षीय शर्मालाई कात्तिक २७ गते शुक्रबार ललितपुर महानगरपालिका–२५, भैँसेपाटीबाट नियन्त्रणमा लिएको हो। सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी ठेगाना भएका शर्मा भैँसेपाटीमा बस्दै आएका थिए।

सीआईबीका अनुसार गैरकानुनी आर्थिक लाभ लिई संस्थानलाई नोक्सानी पुर्‍याइएको उजुरीपछि गरिएको प्रारम्भिक छानबिनमा तत्कालीन महाप्रबन्धकदेखि प्रशासनिक तहका उच्च अधिकारी, चिस्यान केन्द्रका प्रमुख र कर्मचारीसम्मको मिलेमतोमा विभिन्न समूह खडा गरी आर्थिक अनियमितता गरिएको देखिएको छ।सरकारी संस्थानलाई नै योजनाबद्ध रूपमा करोडौँको नोक्सानी पुर्‍याइएको घटनाले डीडीसीभित्रको आर्थिक सुशासन र संस्थागत जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको छ। पक्राउ परेका शर्मामाथि आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। अब अनुसन्धानले अनियमितताको जालोमा जोडिएका अन्य अधिकारी र कर्मचारीसम्म पुग्छ कि पुग्दैन भन्ने चासो बढेको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button