लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशगण्डकीबागमतीमनोरञ्जन

आस्था, अनुशासन र सूर्य उपासनाको महापर्व छठ : आज खरना, भोलि अस्ताउँदो सूर्यलाई अर्घ्य

प्रहार समाचार । काठमाडौं, २८ कात्तिक २०८३ शनिबार । सूर्य उपासनाको महापर्व छठ धार्मिक आस्था, निष्ठा र कठोर तपस्यासहित अघि बढिरहेको छ । शुक्रबार ‘नहायखाय’ विधिबाट सुरु भएको छठ पर्वअन्तर्गत आज ब्रतालुहरूले ‘खरना’ विधि गर्दैछन् । तस्बिर : साङ्‌केतिक एआई

दूध र गुडमा पकाइएको खीर (रस्याउ) तथा पुरी छठी मातालाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने यस विधिले पर्वको धार्मिक महत्त्व र पारिवारिक एकतालाई झल्काउँछ । ब्रतालुले तयार पारेको प्रसाद परिवार, आफन्त र छरछिमेकमा बाँड्ने परम्पराले छठलाई व्यक्तिगत व्रतमा मात्र सीमित नराखी सामूहिक आस्था र सद्भावको पर्वका रूपमा स्थापित गरेको छ ।खरना विधिपछि ब्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार व्रत बस्नेछन् । आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई जलाशयका किनारमा पुगेर विधिपूर्वक अर्घ्य अर्पण गरिनेछ ।

बाँसका सुपुली र छैंटीमा नरिवललगायत पूजासामग्री सजाएर नयाँ वस्त्रमा सजिएका परिवारका सदस्यसहित घाट पुग्ने परम्पराले छठको दृश्यलाई थप आकर्षक बनाउँछ । सूर्यलाई अर्घ्य दिनु केवल धार्मिक कर्मकाण्ड मात्र नभई प्रकृति, जल र जीवनप्रति सम्मान प्रकट गर्ने विशिष्ट सांस्कृतिक अभ्याससमेत हो ।अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि पनि ब्रतालुको तपस्या सकिँदैन । कतिपयले राति घरको आँगनमा कोशी भर्ने विधि गर्छन् भने घाटमै बस्नेहरूले भजनकीर्तन र जाग्राम गरी रात बिताउँछन् ।

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर मात्रै व्रत समापन हुनेछ । उदाउँदो र अस्ताउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ पूजा गरिने छठले जीवनमा उज्यालो र अँध्यारो दुवै अवस्थालाई स्वीकार गर्दै प्रकृतिप्रति कृतज्ञ हुन सिकाउँछ । कठोर व्रत, शुद्धता, संयम र सामूहिक सहभागिताको सन्देश बोकेको छठले धार्मिक सहिष्णुता र सामाजिक सद्भावको सुन्दर उदाहरण प्रस्तुत गरिरहेको छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button