लुम्बिनीहेडलाईनकोशीसमाचारमदेशकर्णालीसुदुर पश्चिमगण्डकीबागमतीमनोरञ्जन

आज भाइटीका : सम्बन्धको उत्सव मात्रै होइन, दाजुभाइ र दिदीबहिनीबीचको माया, विश्वास र सुरक्षाको धार्मिक सङ्कल्प

प्रहार समाचार । काठमाडौँ , २५ कात्तिक यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट सप्तरङ्गी टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । यो पर्व निधारमा रङ पोतेर माला र उपहार साटासाट गर्ने औपचारिकता मात्रै होइन, दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, आत्मीयता, दीर्घायु र सुरक्षाको कामना जोडिएको गहिरो धार्मिक तथा सांस्कृतिक पर्व हो ।

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वलाई यमद्वितीया पनि भनिन्छ । धार्मिक मान्यताअनुसार दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै टीका लगाइदिन्छन् भने दाजुभाइले पनि दिदीबहिनीको सम्मान र सुरक्षाप्रतिको प्रतिबद्धता व्यक्त गर्छन् ।

भाइटीकाको धार्मिक मान्यतामा यमराज, यमुना र दाजुभाइ–दिदीबहिनीबीचको सम्बन्धको विशेष महत्त्व छ । यस दिन दियो, कलश र गणेशको पूजा गरी अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामलगायत देवताको आराधना गर्ने परम्परा छ । दिदीबहिनीले तेलको धाराले दाजुभाइलाई घेरेर पाँच रङका टीका लगाउने, मखमली, सयपत्री र गोदावरीका माला पहिर्‍याउने तथा ओखर, कटुस, मरमसला र सेलरोटी दिने चलन छ । धर्मशास्त्रअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने विधान रहे पनि अहिले सप्तरङ्गी टीकाको प्रचलन व्यापक छ ।

यस वर्ष साइत खोज्नेका लागि बिहान ११ः०७ बजे उत्तम समय रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने धार्मिक विधान छ ।तर, भाइटीकाको वास्तविक सार निधारमा लगाइएको टीका, गलामा पहिरिएको माला र हातमा थमाइएको दक्षिणामा मात्र सीमित हुनुहुँदैन । दिदीबहिनीलाई अपमान गर्ने, उनीहरूको अधिकार खोस्ने, हिंसा र विभेद गर्ने अनि वर्षमा एक दिन टीका लगाएर मात्रै दाजुभाइको कर्तव्य पूरा हुँदैन । धर्मले सिकाएको प्रेम, सम्मान, संरक्षण र सद्भाव व्यवहारमै उतार्नु नै भाइटीकाको वास्तविक धर्म हो ।

दिदीबहिनीको आँसुमा रमाएर निधारमा टीका लगाउनु, उनीहरूको पीडा बेवास्ता गरेर दीर्घायुको आशीर्वाद माग्नु धार्मिक आडम्बरबाहेक केही होइन । त्यसैले भाइटीकाले केवल आयु लामो होस् भन्ने कामना होइन, सम्बन्ध जीवनभर बलियो रहोस्, महिलाको सम्मान र अधिकार सुरक्षित होस् तथा परिवारमा माया, विश्वास र समानताको दीप कहिल्यै ननिभोस् भन्ने सन्देश दिनुपर्छ ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button