हेडलाईनसमाचारबागमती

कांग्रेस सभापति थापा गिरफ्तारीको हल्ला , पहिले कुमार बेनमाथि उठेका प्रश्नको जवाफ देऊ : महामन्त्री पौडेल

प्रहार समाचार । काठमाडौं, २२ कात्तिक २०८३ आइतबार । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगन थापालाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाप्रति कडा आपत्ति जनाउँदै सरकारलाई पहिले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि उठेका गम्भीर प्रश्नको जवाफ दिन चुनौती दिएका छन्।

सामाजिक संञ्जाल मार्फत उनले विधिको शासन भएको मुलुकमा कसलाई किन गिरफ्तार गर्ने, कुन अपराधमा र कुन कानुनी आधारमा भन्ने प्रश्न उठ्नु स्वाभाविक भए पनि सनकका भरमा शासन चल्दा जवाफदेहितामाथि नै प्रश्न उठ्ने टिप्पणी गरेका छन्।पौडेलले बिना पक्राउ पुर्जी प्रहरी सञ्चारकक्षमा प्रवेश गर्ने शासनमा के हुन्छ र के हुँदैन भन्ने विश्वास गर्न नसकिने उल्लेख गर्दै गिरफ्तारीको हल्ला फैलाएर राजनीतिक प्रश्न र अनुसन्धानसँग जोडिएका विषयबाट ध्यान मोड्न खोजिएको आरोप लगाएका छन्। उनका अनुसार निष्पक्ष अनुसन्धानको माग उठिरहेका बेला प्रश्नको केन्द्रमा नेपाली कांग्रेसका सभापति नभई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेन हुनुपर्ने अवस्था छ।उनले इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा किन राखियो भन्ने गम्भीर प्रश्न उठाएका छन्। उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने आरोप तथा आशंकाबारे कसले जवाफ दिने भन्दै उनले अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रहरीको नियन्त्रणबाहिर कसरी पुग्यो भन्ने प्रश्न गरेका छन्।

प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्नेमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा पुर्‍याउनुको कानुनी आधार के थियो, कसको निर्देशनमा यस्तो भयो र त्यसबाट कसलाई जोगाउन खोजियो भन्ने विषयमा पौडेलले जवाफ मागेका छन्। उनले प्रधानमन्त्री र उनको सचिवालयको बिचौलियासँगको सम्बन्ध, लामो समयसम्म प्राप्त संरक्षण र राजनीतिक पहुँचबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।प्रमाण मेटिएको आरोप, अनुसन्धानका क्रममा बरामद मोबाइल अनधिकृत नियन्त्रणमा राखिएको विषय र डिजिटल सामग्रीमा छेडछाड भएको आशंकाजस्ता गम्भीर प्रश्नको जवाफ दिनुपर्नेहरू नै उल्टै अरूमाथि राजनीतिक आक्रमणमा उत्रिएको उनको आरोप छ। ‘स्क्रिप्ट तिमीहरूकै, कथा तिमीहरूकै, भाष्य तिमीहरूकै र पात्र पनि तिमीहरूकै, अनि प्रश्नको कठघरामा चाहिँ हामी?’ भन्दै उनले सरकारको कार्यशैलीमाथि तीखो व्यङ्ग्य गरेका छन्।पौडेलले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाबारे सम्बन्धित पक्षले आफ्ना कानुनी सल्लाहकारसँग जवाफ खोज्नुपर्ने टिप्पणी गरेका छन्।

डिजिटल प्रमाण अनधिकृत व्यक्तिको नियन्त्रणमा पुग्नु र त्यसमा छेडछाड भएको आशंका उठ्नु सामान्य विषय नभएको उनको भनाइ छ।उनले सत्ता, सरकार, प्रहरी र प्रशासनमाथिको प्रभाव कुनै व्यक्ति वा दलको निजी सम्पत्ति नभएको स्पष्ट पार्दै राज्यका संस्थालाई राजनीतिक प्रतिशोध पूरा गर्ने औजार बनाउन नहुने बताएका छन्। निष्पक्ष अनुसन्धान, तथ्य र प्रमाणका आधारमा दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने उनको माग छ।’निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?’ भन्दै पौडेलले गिरफ्तारीको हल्लाले प्रश्न दबाउन नसकिने र सत्ताको आडमा सत्य लुकाउन नसकिने चेतावनी दिएका छन्। यो प्रकरणमा दूधको दूध, पानीको पानी नभएसम्म आफूहरू पछि नहट्ने उनको अडान छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button