प्रहार समाचार । काठमाडौं, १८ कात्तिक २०८२ बुधबार । । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

हिंजो बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा सुवेदीलाई नेप्सेको नेतृत्व सुम्पिएको हो। लामो समयदेखि लगानीकर्ता, पुँजी बजार र संस्थागत सुशासनसँग जोडिएका चुनौतीबीच भएको यो नियुक्तिलाई नेप्सेको नेतृत्व परिवर्तनका रूपमा हेरिएको छ।नवनियुक्त सीईओ सुवेदीलाई बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गरेका छन्। नियुक्तिपत्र हस्तान्तरण गर्दै अर्थमन्त्री वाग्लेले उनलाई इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।
पुँजी बजारको विश्वसनीयता, पारदर्शिता र प्रभावकारितामाथि निरन्तर प्रश्न उठिरहेका बेला अर्थमन्त्रीको निर्देशनले नेप्सेको नयाँ नेतृत्वमाथि जिम्मेवारीसँगै जवाफदेहिताको दबाब पनि बढाएको छ।अब सुवेदीसामु पद सम्हाल्नु मात्रै होइन, लगानीकर्ताको विश्वास जित्नु र नेप्सेलाई पारदर्शी, प्रविधिमैत्री तथा उत्तरदायी संस्थाका रूपमा स्थापित गर्नु मुख्य चुनौती हुनेछ। सेयर बजारमा देखिने उतारचढाव, कारोबार प्रणालीको विश्वसनीयता र बजार सुधारका सवालमा नयाँ नेतृत्वले कस्तो परिणाम दिन्छ भन्ने चासो बढेको छ। नियुक्तिले मात्रै पुँजी बजारको समस्या समाधान हुँदैन; सुवेदीको वास्तविक परीक्षा कार्यसम्पादन, निर्णय क्षमता र इमानदार नेतृत्वबाट हुनेछ।

















