प्रहार समाचार । काठमाडौं, १७ कात्तिक २०८३ सोमबार । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज बसेको अदालतको पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था र प्रतिबद्धता रहेको स्पष्ट पार्दै न्यायपालिकासँग जोडिएका सार्वजनिक प्रश्न र समाचारलाई गम्भीरतापूर्वक लिनुपर्ने जनाएको छ । अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार डा. अशोककुमार क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा सार्वजनिक भएका विषयमा पूर्वाग्रहरहित, निष्पक्ष र स्वतन्त्र ढङ्गले छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ । साथै, छानबिनबाट प्राप्त सत्य र तथ्यमा आधारित निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्नुपर्नेमा अदालतले जोड दिएको छ ।
पूर्ण बैठकले सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा संविधान र कानुनबमोजिम हुने छानबिन तथा अनुसन्धानमा अदालत कानुनअनुसार निर्वाह गर्नुपर्ने जवाफदेहिता र सहयोगका लागि प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । न्यायपालिकाको गरिमा र विश्वसनीयता कायम राख्न आरोपको खण्डन वा समर्थनभन्दा पनि निष्पक्ष अनुसन्धान र तथ्यमा आधारित निष्कर्ष आवश्यक रहेको सन्देश दिँदै सर्वोच्चले संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सबै पक्षलाई आग्रह गरेको छ ।

















