हेडलाईनसमाचारमदेश

बारामा स्वास्थ्य भवन उद्घाटनकाक्रममा गोली चल्यो : १० भन्दा बढी मोटरसाइकलमा आगजनी

प्रहार समाचार । बारा, १४ कात्तिक २०८३ शनिबार । बाराको फेटा गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य कार्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा विवाद चर्किँदा गोली चलेको छ।

गोली लागेर एक जना गम्भीर घाइते भएका छन् भने आक्रोशित स्थानीयले १० वटाभन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन्। स्वास्थ्य भवन उद्घाटनजस्तो सार्वजनिक कार्यक्रममा गोली चल्नु र सवारीसाधन जलाइनुले स्थानीय तहमा बढ्दो मनपरी र कमजोर सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। भवनमा विद्युत्, खानेपानीलगायतका आधारभूत पूर्वाधारसमेत व्यवस्था नगरी उद्घाटन गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका थिए। स्थानीयको असन्तुष्टिलाई सम्बोधन गर्नुको सट्टा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले जबर्जस्ती उद्घाटन गर्न खोजेपछि विवाद थप चर्किएको बताइएको छ।

विवादकै क्रममा गोली चलेको हो। गोली कसले चलाएको भन्ने खुलेको छैन। तर स्थानीयले अध्यक्ष अन्सारीकै निर्देशनमा गोली चलाइएको आरोप लगाएका छन्, जसको स्वतन्त्र पुष्टि हुन बाँकी छ। गोली प्रहारबाट एक जना गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले १० वटाभन्दा बढी मोटरसाइकलमा आगजनी गरेका छन्। घटनापछि फेटा क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। जनताको करबाट बनेको स्वास्थ्य भवन उद्घाटन गर्ने नाममा गोली चल्ने र सार्वजनिक सम्पत्तिमाथि आगजनी हुने अवस्था सिर्जना हुनु सामान्य घटना होइन। विकासको नाममा प्रचार र उद्घाटनको हतार गर्ने प्रवृत्तिभन्दा नागरिकको सुरक्षा, आवश्यक पूर्वाधार र जनताको आवाजको सम्मान पहिलो प्राथमिकता हुनुपर्ने घटनाले स्पष्ट सन्देश दिएको छ।



Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button